२३ आश्विन २०८३, शुक्रबार

दीपक भट्टसहित १८ जनाविरुद्ध बिमा ऐनअन्तर्गत छैटौँ मुद्दा

ड्रागन मिडिया सम्वाददाता

दीपक भट्टसहित १८ जनाविरुद्ध बिमा ऐनअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंमा छैटौँ मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार दायर गरेको मुद्दामा बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासमेत प्रतिवादी छन्।

बिमा प्राधिकरणको पत्रका आधारमा दायर अभियोगपत्रमा हिमालयन रि–इन्स्योरेन्सको सेयर कारोबारमा चलखेल गरी राज्यलाई नोक्सान पुर्‍याएको तथा बिमा र पुनर्बिमा कोषको रकम योजनाबद्ध रूपमा हिनामिना र निजी लाभमा प्रयोग गरेको आरोप लगाइएको छ। यी आरोप अदालतबाट प्रमाणित हुन बाँकी छन्।

अभियोगपत्रमा रकम आठ चरणमा स्थानान्तरण गरिएको दाबी छ। हिमालयन रि–इन्स्योरेन्सबाट २८ करोड रुपैयाँ पेस्की निकालिएको र फर्जी लेखांकनमार्फत एलियन्ट इन्स्योरेन्स ब्रोकर्सलाई २३ करोड ९२ लाख रुपैयाँ भुक्तानी गरिएको उल्लेख छ। त्यसपछि विभिन्न खातामार्फत रकम अञ्जना नेपाल, आयुष्मा भट्ट हुँदै दीपक भट्टको खातामा पुगेको अभियोगपत्रमा दाबी गरिएको छ। अन्तिम दुई चरणमा दीपक भट्टको खातामा २१ करोड १५ लाख रुपैयाँका दरले कुल ४२ करोड ३० लाख रुपैयाँ स्थानान्तरण भएको उल्लेख छ।

भट्टले आफू वास्तविक धनी रहेको अवस्थामा सासू अञ्जना नेपालको नाममा एलियन्ट इन्स्योरेन्स ब्रोकर्स स्थापना गरी बिमा कम्पनी तथा तिनका सहायक कम्पनीको कोष परिचालन गरेको अभियोगपत्रमा दाबी गरिएको छ। प्रतिवादीहरूविरुद्ध बिगो, जरिवाना र कैद सजाय माग गरिएको छ। भट्ट समूहविरुद्ध यसअघि सम्पत्ति शुद्धीकरण र बिमा ऐनलगायतका मुद्दा पनि अदालतमा विचाराधीन छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button