२३ आश्विन २०८३, शुक्रबार

किस्तामा सामान किन्न हायर पर्चेज कर्जा फस्टाउँदै

ड्रागन मिडिया सम्वाददाता

तत्काल नगद नभए पनि नियमित आम्दानी भएका उपभोक्ताले हायर पर्चेज कम्पनीमार्फत मोबाइल, ल्यापटप, घरायसी सामग्री र सवारीसाधन किस्तामा किन्न थालेपछि यस क्षेत्रको कारोबार बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनभन्दा प्रक्रिया सहज हुने र केही सामग्रीमा ब्याज तथा सेवा शुल्क नलाग्ने भएकाले ग्राहक आकर्षित भएको कम्पनीका प्रतिनिधिहरू बताउँछन्।

मोबाइल र ल्यापटपमा ब्याज तथा सेवा शुल्क नलाग्ने, घरायसी सामग्रीमा सामान्यतया एक प्रतिशत सेवा शुल्क लाग्ने र सवारीसाधनमा ब्याज तिर्नुपर्ने व्यवस्था छ। नयाँ सवारीका लागि ७.९९ प्रतिशतदेखि र पुराना तथा दोस्रो हातका सवारीका लागि ८.२५ देखि ९.२५ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिइएको कम्पनीहरूले बताएका छन्। कुल मूल्यको ४० प्रतिशत ग्राहकले तिरेमा बाँकी ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था रहेको जनाइएको छ।

नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका १० हायर पर्चेज कम्पनीले बैंकबाट थोक कर्जा लिएर यस्तो सेवा दिइरहेका छन्। कम्पनीहरूले धितो र बैंक विवरणबिनै नागरिकताको आधारमा कर्जा दिने गरेका छन्। हुलास फिन सर्भिसका अनुसार कम्पनीले २०१२ देखि हालसम्म १२ अर्ब २२ करोड रुपैयाँ लगानी गरेको छ। आर्थिक वर्ष २०७९/८० मा यसको लगानी २ अर्ब ५२ करोड रुपैयाँ थियो।

कर्जा लिनुअघि ग्राहक बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेको हुनुहुँदैन। कर्जा लिएपछि एक वर्षसम्म किस्ता नतिरी सम्पर्कविहीन भए नागरिकताका आधारमा कालोसूचीमा राख्न सकिने कम्पनीहरूले जनाएका छन्। राष्ट्र बैंकको व्यवस्थाअनुसार हायर पर्चेज कम्पनीले निक्षेप संकलन गर्न पाउँदैनन्, चुक्ता पुँजी कम्तीमा ३० करोड रुपैयाँ हुनुपर्छ र खुद सम्पत्तिको १० गुणाभन्दा बढी ऋण लिन पाउँदैनन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button