निलम्बित एआईजी दाहाललाई कारबाही गर्न छानबिन समितिको सिफारिस

ड्रागन मिडिया सम्वाददाता
सशस्त्र प्रहरी बलका निलम्बित अतिरिक्त प्रहरी महानिरीक्षक वंशी राज दाहालले आचरणविपरीत काम गरेको निष्कर्षसहित छानबिन प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको छ। प्रतिवेदनले सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११० अनुसार कारबाही गर्न सिफारिस गरेको छ। अन्तिम निर्णय मन्त्रालयले गर्नेछ।
छानबिन समितिका संयोजक अतिरिक्त प्रहरी महानिरीक्षक अञ्जनीकुमार पोखरेलले बिहीबार प्रतिवेदन बुझाएका हुन्। नियमावलीको दफा ११० मा सामान्य र विशेष सजायको व्यवस्था छ। विशेष सजायअन्तर्गत भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन वा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्न सकिने प्रावधान छ।
प्रतिवेदनमा दाहालको बयान पनि समावेश छ। विचौलिया इनम सापकोटासँग नियमित सम्पर्क र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्धबारे सोध्दा दाहालले सापकोटासँग पुरानो चिनजान र कुराकानी हुने गरेको स्वीकार गरेका छन्। तर आचरणविपरीत कुनै काम नगरेको उनको जिकिर छ।
अधिकारीहरूका अनुसार दाहाल र सापकोटाबीच ह्वाट्सएपमा पटकपटक लामो कुराकानी भएको देखिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानमा रहेका सापकोटालाई भेट्न दाहाल बिहान ३ बजे उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको र त्यहाँ तीन घण्टा बसेको विवरण गृह मन्त्रालयमा पुगेपछि उनीमाथि छानबिन शुरु भएको थियो।





