एमाले केन्द्रीय सदस्य विजयकुमार सरावगी राष्ट्रिय स्वतन्त्र पार्टीमा

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेका केन्द्रीय सदस्य विजयकुमार सरावगीले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका छन्। उनले बिहीबार राति उक्त पार्टीको अनलाइन सदस्यता लिएको र शुक्रबारदेखि आफू एमालेमा नरहेको बताएका छन्।
सरावगीले पार्टी परिवर्तनको कारण वीरगन्जको मेयर बन्ने आकाङ्क्षा नभएको स्पष्ट पारे। राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यसूची हेरेर पार्टीमा आबद्ध भएको उनको भनाइ छ। भविष्यमा पार्टीले कुनै जिम्मेवारी दिए स्वीकार गर्ने उनले बताए।
एमालेमा आफूलाई विचारी यादवबाहेक पार्टीका अन्य प्रमुख नेताबाट सहयोग नपाएको सरावगीले बताएका छन्। एमाले र नेपाली कांग्रेसको माथिल्लो तहमा समस्या रहेको र ती पार्टी सुध्रिने सम्भावना नदेखेको उनको भनाइ छ। व्यापारी पृष्ठभूमिका सरावगी यसअघि वीरगन्ज महानगरपालिकाका मेयर थिए।





