ऊर्जा खर्च बढ्दा न्युजिल्यान्डका व्यवसाय चिन्तित

ड्रागन मिडिया समाचार कक्ष
न्युजिल्यान्डका दुईतिहाइभन्दा बढी व्यवसायले वर्तमान र भविष्यमा ऊर्जा खर्च बढ्ने चिन्ता व्यक्त गरेका छन्। ऊर्जा खर्च वा आपूर्ति अनिश्चितताका कारण करिब एकतिहाइ व्यवसायले वस्तु तथा सेवाको मूल्य बढाएको सर्वेक्षणले देखाएको छ।
एएसबी बैंकले सार्वजनिक गरेको सर्वेक्षणमा ४०६ व्यवसायी सहभागी थिए। सहभागीमध्ये ७० प्रतिशतले ऊर्जालाई प्रमुख वा नियमित रूपमा व्यवस्थापन गर्नुपर्ने खर्चका रूपमा लिएका छन्। उस्तै अनुपातका व्यवसायले दुई वर्षअघिको तुलनामा ऊर्जा खर्च बढेको बताएका छन्। ऊर्जा आपूर्तिसम्बन्धी चुनौतीका कारण पाँचमध्ये एक व्यवसायले उत्पादन, काम गर्ने समय वा उत्पादनको मात्रा घटाएको सर्वेक्षणमा उल्लेख छ।
लामो समय विद्युत् आपूर्ति बन्द भए पनि आफ्नो व्यवसाय चलाउन सक्ने विश्वास ६४ प्रतिशतले व्यक्त गरे। तर मुख्य ऊर्जा स्रोत अवरुद्ध भए तीन दिनभन्दा बढी व्यवसाय सञ्चालन गर्न सकिने अपेक्षा ३७ प्रतिशतले मात्र गरेका छन्। थप २८ प्रतिशतले ऊर्जालाई जोखिमका रूपमा पहिचान गरे पनि त्यसको सामना गर्ने योजना बनाएका छैनन्।
एएसबीका कर्पोरेट बैंकिङ प्रमुख जोनाथन ओरमले बढ्दो लागत र आपूर्ति अवरोधको सम्भावनाका कारण व्यवसायले ऊर्जालाई सामान्य सञ्चालन खर्चभन्दा रणनीतिक विषयका रूपमा लिनुपर्ने बताए। घट्दो घरेलु ग्यास सञ्चिति, मध्यपूर्वको द्वन्द्व र विश्वव्यापी राजनीतिक अनिश्चितताले जोखिम बढाएको उनको भनाइ छ। सौर्य ऊर्जा, ब्याट्री भण्डारण र विद्युतीय सवारीमा भएको प्रगतिले ऊर्जा दक्षता सुधार गरी व्यवसायको ऊर्जा खर्च २० प्रतिशतसम्म घटाउन सक्ने सर्वेक्षणले जनाएको छ।g





