ट्रम्पको विजय तोरण रोक्न आर्लिङ्टन काउन्टी अदालतमा

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावित विजय तोरण निर्माण रोक्न भर्जिनियाको आर्लिङ्टन काउन्टी सरकारले मुद्दा दायर गरेको छ। काउन्टीले बिहीबार भर्जिनियाको पूर्वी जिल्ला अदालतमा दायर गरेको मुद्दामा परियोजनाले वातावरणसम्बन्धी कानुन उल्लङ्घन गर्ने र थप समीक्षा आवश्यक पर्ने दाबी गरेको छ।
अमेरिकी गृहयुद्धपछि राष्ट्रिय एकताको प्रतीकका रूपमा बनाइएको लिंकन स्मारक र आर्लिङ्टन राष्ट्रिय चिहानबीचको दृश्यरेखा २५० फिट अग्लो तोरणले छेक्ने काउन्टीको उजुरीमा उल्लेख छ। स्मारक वृत्तमा निर्माण हुने संरचनाले व्यस्त सडकमा यातायात अवरुद्ध गरी आपत्कालीन सेवामा बाधा पुर्याउने तथा विमानस्थलका उडान मार्ग परिवर्तन हुँदा ध्वनि र वायु प्रदूषण बढाउने काउन्टीको भनाइ छ।
राष्ट्रिय निकुञ्ज सेवाले परियोजनाको वातावरणीय असरबारे कानुनले मागेअनुसार विस्तृत समीक्षा नगरेको आरोप लगाउँदै काउन्टीले निर्माणसम्बन्धी काम रोक्न माग गरेको छ। काउन्टीका अनुसार समीक्षा पूरा हुनुअघि जमिन खन्ने र अन्य निर्माण गतिविधि शुरु गर्नु हानिकारक हुनेछ।
ट्रम्पले सन् २०२५ अक्टोबरमा अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको स्मारकका रूपमा विजय तोरण बनाउने योजना सार्वजनिक गरेका थिए। हालै उनले यसलाई “उच्चस्तरीय सैन्य परिसर तथा विजय तोरण” भन्दै त्यहाँ ठूलो परिमाणमा गोलीगठ्ठा र ड्रोन राखिने तथा निशानेबाज परिचालन गर्न सकिने बताएका थिए। सेप्टेम्बरको शुरुमा आन्तरिक मामिलामन्त्री डग बर्गमले दुई साताभित्र उत्खनन शुरु हुन सक्ने बताएका थिए।





