सुनार प्रकरणमा प्रमाण जुटाउँदै रास्वपा, जनआस्थासँग माग्यो सामग्री

ड्रागन मिडिया सम्वाददाता
सांसद खगेन्द्र सुनारसँग सम्बन्धित श्रव्य सामग्री प्रकरणको छानबिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनआस्थासँग प्रमाण मागेको छ। पार्टीको छानबिन टोलीले सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारसँग सम्बन्धित श्रव्यदृश्य सामग्री र कागजात उपलब्ध गराउन आग्रह गर्दै जनआस्था कार्यालयमा पत्र दर्ता गरेको हो।
जनआस्थाका अनुसार, टोलीले आस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठ र सम्पादक मण्डलसँग भेटेर छानबिनबारे जानकारी गराएको थियो। घटनाको सत्यतथ्य बाहिर ल्याउने र छानबिन स्वतन्त्र रूपमा अघि बढाउने प्रतिबद्धता टोलीले जनाएको छ।
रास्वपाको अनुशासन आयोगले पूर्वन्यायाधीश लेखनाथ पौडेलको नेतृत्वमा गठन गरेको समितिको संयोजक अधिवक्ता हरिचन्द्र भट्टराई छन्। समितिले जाँचबुझ थालेको र आवश्यक प्रमाण सङ्कलन गरिरहेको जनाएको छ।
यसअघि असोज २७ गते रास्वपाले सुनारलाई सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो। महामन्त्री विपिनकुमार आचार्यको विज्ञप्तिमा महिलामाथिको दुर्व्यवहार, पदको मर्यादा उल्लंघन र फौजदारी कसुरसम्बन्धी आरोपलाई पार्टीले गम्भीर रूपमा लिने उल्लेख थियो।
जनआस्थाले छानबिन प्रतिवेदन सार्वजनिक गर्न र राजनीतिक दबाबका कारण निर्णय प्रभावित हुन नदिन टोलीलाई सुझाव दिएको जनाएको छ। समाचारमा यसअघि अर्का सांसद कृष्णकुमार कार्कीसँग सम्बन्धित प्रकरणमा आयोगले बयान लिएपछि उनलाई सफाइ दिएको र पीडित महिलाको सुरक्षा तथा गर्भमा रहेको बच्चाको जिम्मेवारीबारे प्रतिबद्धता लिएको पनि उल्लेख छ।





