अमेरिकामा रुसी डिजेलको पहिलो खेप पुग्न कम्तीमा २–३ साता लाग्ने : नोभाक

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकामा रुसी डिजेलको पहिलो खेप पठाउन कम्तीमा दुईदेखि तीन साता लाग्ने रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले बताएका छन्। त्यसका लागि दुवै पक्षले सकेसम्म चाँडो सम्झौता गर्नुपर्ने उनको भनाइ छ।
रूसी ऊर्जा सप्ताहका अवसरमा पत्रकारहरूसँग कुरा गर्दै नोभाकले इन्धन पठाउन सम्झौता गर्ने, डिजेल जहाजमा चढाउने, पानीजहाज भाडामा लिने र उपभोक्तासम्म पुर्याउने प्रक्रिया पूरा गर्न समय लाग्ने बताए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अक्टोबर ९ मा भएको फोनवार्तामा पेट्रोलियम पदार्थको आपूर्तिबारे पनि छलफल भएको थियो। पुटिनले रुसले अमेरिका र विश्व बजारमा तेल तथा पेट्रोलियम पदार्थ आपूर्ति गर्न तयार रहेको दोहोर्याएका थिए।
रुसले डिजेल निर्यातमा लगाएको प्रतिबन्ध निर्धारित समयभन्दा अघि हटाउने तयारी गरेको नोभाकले यसअघि टासलाई बताएका थिए। उनका अनुसार अक्टोबरमा तीन लाख टन, नोभेम्बरमा पाँच लाख टन र डिसेम्बरमा १० लाख टन डिजेल आपूर्ति गर्न रुस तयार छ। त्यसपछि मासिक आपूर्ति ३० लाख टनसम्म पुर्याउन सकिने उनको भनाइ थियो।
यसैबीच, अमेरिकी प्रशासनले रुसी डिजेललाई विश्व बजारमा आपूर्ति गर्न सन् २०२७ अप्रिल ७ सम्म लागू हुने सामान्य अनुमति जारी गरेको छ।
रूसी ऊर्जा सप्ताहको अन्तर्राष्ट्रिय मञ्च अक्टोबर १४ देखि १६ सम्म मस्कोमा आयोजना भइरहेको छ। रूसी सरकार, ऊर्जा मन्त्रालय र मस्को सरकारको सहयोगमा भइरहेको कार्यक्रमको आयोजक रोसकङ्ग्रेस फाउन्डेसन हो। टास यस मञ्चको सूचना साझेदार रहेको छ।





