२९ आश्विन २०८३, बिहीबार

नयाँ चीन–उत्तर कोरिया यालु नदी पुल सञ्चालनमा

ड्रागन मिडिया समाचार कक्ष

चीन र उत्तर कोरियाबीचको यालु नदीमाथि बनेको नयाँ पुल बिहीबारदेखि यातायातका लागि खुला भएको छ। दुवै देशले सीमापार सम्पर्कको महत्वपूर्ण मार्ग मानिएको पुल उद्घाटन गर्न संयुक्त समारोह आयोजना गरेका छन्।

तारको सहारामा उभ्याइएको पुलले चीनको लियाओनिङ प्रान्तस्थित तान्दोङ शहर र उत्तर कोरियाको उत्तर फ्योङ्गान प्रान्तस्थित सिनुइजु शहरलाई जोड्छ। यसको २८.५ मिटर चौडा सडकमा दुवैतर्फ चल्ने चार मार्ग छन्। पुलमुनि तीन हजार टनसम्मका जहाज आवतजावत गर्न मिल्ने गरी उचाइ राखिएको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार नयाँ पुलले दुई देशबीचको व्यापार तथा जनस्तरको आदानप्रदानलाई थप सहज बनाउने बताएकी थिइन्। उनका अनुसार, पहाड र नदीले जोडिएका मैत्रीपूर्ण छिमेकी चीन र उत्तर कोरियाबीचको सम्पर्क विस्तारका लागि पुल महत्वपूर्ण पूर्वाधार हुनेछ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले उद्घाटन समारोहमा भिडियो सम्बोधन गर्दै पुललाई दुई देशबीचको परम्परागत मैत्रीको नयाँ प्रतीकका रूपमा वर्णन गरे। उनले भन्सार प्रक्रिया सुधार, सीमावर्ती क्षेत्रमा सहकार्य विस्तार र दुवै देशका जनताको जीवनस्तर उकास्न पुलको उपयोग गर्नुपर्ने बताए।

तान्दोङ चीन र उत्तर कोरियाबीचको सबैभन्दा ठूलो सीमावर्ती व्यापारिक बन्दरगाह हो। नयाँ पुल बन्नुअघि यालु नदीमाथिको चीन–उत्तर कोरिया मैत्री पुलबाट सडक र रेल दुवै यातायात सञ्चालन हुन्थ्यो। तर पुरानो पुलमा सडकबाट एकतर्फी रूपमा २० टनभन्दा बढी भार भएका ट्रक चलाउन मिल्दैनथ्यो।

चीन र उत्तर कोरियाले पुरानो पुलभन्दा नदीको तल्लो भागमा नयाँ सडक पुल निर्माण गर्ने सहमति सन् २०१० मा गरेका थिए। नयाँ पुलले सीमापार ढुवानी क्षमता बढाउँदै व्यापार र जनस्तरको सम्पर्क विस्तार गर्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button