अफ्रिकी सङ्घमा प्रतिनिधित्व बहाल गर्न इरिट्रियाको आग्रह

ड्रागन मिडिया समाचार कक्ष
इथियोपियाले आफ्ना कूटनीतिज्ञलाई निष्कासन गरेपछि अफ्रिकी सङ्घको आयोग मुख्यालयमा इरिट्रियाको प्रतिनिधित्व पुनःस्थापित गर्न ‘तत्काल सुधारात्मक कदम’ चाल्न इरिट्रियाले सङ्घसँग आग्रह गरेको छ।
अफ्रिकी सङ्घलाई पठाएको र बिहीबार सार्वजनिक गरिएको पत्रमा इरिट्रियाको परराष्ट्र मन्त्रालयले अफ्रिकी सङ्घको सदस्यका रूपमा आफ्नो अधिकार, प्रतिनिधित्व र सहभागिता अस्वीकार गरिएको विषयलाई ‘गम्भीर चिन्ताको विषय’ भनेको छ।
इथियोपियाले अक्टोबर १ मा अदिस अबाबास्थित आफ्नो दूतावासमा कार्यरत इरिट्रियाका १० जना कूटनीतिज्ञलाई अवाञ्छित व्यक्ति घोषणा गरेपछि इरिट्रियाले अफ्रिकी सङ्घ र अफ्रिकाका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक आयोगमा प्रतिनिधित्व पाउने सदस्य राष्ट्रको आधारभूत अधिकारबाट वञ्चित भएको पत्रमा उल्लेख छ।
निष्कासित कूटनीतिज्ञको सूचीमा अफ्रिकी सङ्घ र संयुक्त राष्ट्रसङ्घीय आर्थिक आयोगका लागि स्थायी प्रतिनिधिका रूपमा औपचारिक मान्यता पाएका एक कूटनीतिज्ञ तथा दुवै संस्थासम्बन्धी काम हेर्न खटिएका तीन कर्मचारीसमेत रहेको मन्त्रालयले जनाएको छ।
अफ्रिकी सङ्घ सबै सदस्यको सार्वभौम समानताको सिद्धान्तमा स्थापित अन्तरसरकारी संस्था भएको उल्लेख गर्दै मन्त्रालयले अर्को सदस्य राष्ट्रको इच्छाअनुसार सङ्घमा इरिट्रियाको सदस्यतासम्बन्धी वैधानिक अधिकार कटौती वा कमजोर पार्न नमिल्ने बताएको छ।
इरिट्रियाली सरकारले यो विषय तत्काल अफ्रिकी सङ्घको कार्यकारी परिषद् र सभाको ध्यानाकर्षण गराउन आयोगसँग आग्रह गरेको छ।
पत्रमा भनिएको छ, “सङ्घको मुख्यालयमा इरिट्रियाको न्यायोचित प्रतिनिधित्व पुनःस्थापित गर्न र सार्वभौम तथा समान सदस्यका रूपमा सङ्घका गतिविधिमा पूर्ण सहभागिता सुनिश्चित गर्न इरिट्रियाले नीतिगत निकायसँग तत्काल सुधारात्मक कदम चाल्न आग्रह गर्दछ।”
इरिट्रिया र इथियोपियाबीच कूटनीतिक तनाव बढिरहेका बेला यो पत्र सार्वजनिक भएको हो। तनावले अफ्रिकी महादेशको सिङ क्षेत्रमा रहेका यी दुई देशबीचको सम्बन्ध तीव्र रूपमा बिग्रिएको छ।
यसै महिनाको सुरुमा इथियोपियाले इरिट्रियाको राजधानी अस्मारास्थित आफ्नो दूतावास बन्द गर्ने घोषणा गरेको थियो। इथियोपियाले त्यसलाई “इरिट्रियाबाट इथियोपियाविरुद्ध भएका प्रत्यक्ष तथा अप्रत्यक्ष शत्रुतापूर्ण र आक्रामक गतिविधिको जवाफ” भनेको थियो। त्यसपछि इरिट्रियाले द्विपक्षीय सम्बन्ध पूर्ण रूपमा विच्छेद गर्ने घोषणा गरेको थियो।





