विश्व संस्थामा अफ्रिकाका लागि समान साझेदारीको संयुक्त राष्ट्रसङ्घ र केन्याद्वारा आह्वान

ड्रागन मिडिया समाचार कक्ष
बहुपक्षीयतामाथि विश्वास पुनःस्थापित गर्ने विषयमा नैरोबीमा भएको बैठकमा संयुक्त राष्ट्रसङ्घ र केन्या सरकारका अधिकारीहरूले विश्वव्यापी निर्णय प्रक्रियामा अफ्रिकाको भूमिका बढाउन बिहीबार आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिवका अफ्रिकासम्बन्धी विशेष सल्लाहकार तथा उपमहासचिव अहुन्ना एजियाकोन्वाले अन्तर्राष्ट्रिय संस्थाहरूलाई जवाफदेही रहन, प्रतिबद्धता पूरा गर्न र विश्वव्यापी निर्णय प्रक्रियामा अफ्रिकालाई अर्थपूर्ण स्थान दिन आग्रह गरिन्।
“अन्तर्राष्ट्रिय निर्णयलाई आकार दिन अफ्रिकाको भूमिका नबढाएसम्म विश्व संस्थाले जनविश्वास पुनःप्राप्त गर्न सक्दैनन्,” उनले भनिन्।
विश्वव्यापी शासन व्यवस्थामा अफ्रिकालाई वास्तविक साझेदारका रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिँदै उनले बहुपक्षीयतामाथिको विश्वास अन्तर्राष्ट्रिय संस्थाले आफ्ना प्रतिबद्धता पूरा गर्छन् कि गर्दैनन् र सेवा गर्नुपर्ने जनताको वास्तविक प्रतिनिधित्व गर्छन् कि गर्दैनन् भन्नेमा निर्भर रहने बताइन्।
उनका अनुसार अफ्रिकी मुलुकहरूले विश्व संस्थामा न्यायोचित प्रतिनिधित्व, विकास वित्तमा समान पहुँच र विश्व अर्थतन्त्रका नियम निर्माणमा प्रत्यक्ष भूमिका पाउनुपर्छ। अन्तर्राष्ट्रिय साझेदारलाई उनीहरूका प्रतिबद्धताप्रति जवाफदेही बनाउन अफ्रिकी सरकारलाई आग्रह गर्दै उनले आफ्ना नागरिकप्रति पारदर्शिता कायम गर्न पनि भनिन्।
एजियाकोन्वाले महादेशका नेताहरूलाई कृषि, शिक्षा र सार्वजनिक सेवासम्बन्धी मुख्य प्रतिबद्धता पूरा गर्न आह्वान गरिन्।
केन्याको विदेश तथा प्रवासी मामिला मन्त्रालयका विदेश मामिला प्रमुख सचिव अब्राहम कोरिर सिङ्गोईले स्थापित संस्थामाथि विश्वास पुनःस्थापित गर्न गैरसरकारी पक्षसहित सहभागीको दायरा फराकिलो बनाई निर्णय प्रक्रिया खुला गर्नुपर्ने बताए। प्रमुख अन्तर्राष्ट्रिय निर्णय निकायमा विश्व दक्षिणका मुलुकको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिँदै उनले गैरराज्य पक्षलाई पनि विश्व संस्थामा स्थान दिनुपर्ने बताए।
दुवै अधिकारीले विश्वव्यापी निर्णय प्रक्रियामा शक्ति र प्रभावको न्यायोचित बाँडफाँट गरेर अन्तर्राष्ट्रिय संस्थाले वास्तविक साझेदारी देखाउनुपर्नेमा जोड दिए। जलवायु वित्त र विकास सहायतासम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा वास्तवमा उपलब्ध गराइने स्रोतबीचको खाडल पुर्न तत्काल कदम चाल्न पनि उनीहरूले आग्रह गरे।
सरकार र विश्व संस्थाले ठोस प्रतिबद्धता गर्ने, प्रगति पारदर्शी रूपमा सार्वजनिक गर्ने र वाचा पूरा नभए त्यसबारे जवाफदेही हुने तत्परता देखाए मात्रै दीर्घकालीन परिवर्तन सम्भव हुने उनीहरूको भनाइ थियो।
यो बैठक अक्टोबर २१ देखि २३ सम्म केन्याको नैरोबीमा आयोजना हुने ‘विश्वाससम्बन्धी नैरोबी संवाद’ अघि भएको हो। संवादले छलफल, साझेदारी र सामूहिक कार्यका लागि गतिशील मञ्च निर्माण गर्ने लक्ष्य राखेको छ।





