स्पेसएक्सको मालवाहक यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडियो

ड्रागन मिडिया समाचार कक्ष
स्पेसएक्सको ड्रागन मालवाहक यान बिहीबार अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगेको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार यानले वैज्ञानिक उपकरण र आपूर्ति सामग्री केन्द्रमा पुर्याएको छ।
करिब २,८६० किलोग्राम सामग्री बोकेको यान मंगलबार बिहान ६ः३३ बजे अमेरिकी राज्य फ्लोरिडास्थित केप क्यानाभेरल अन्तरिक्ष बल केन्द्रबाट प्रक्षेपण गरिएको थियो। यान बिहीबार बिहान १०ः२७ बजे स्वचालित प्रणालीमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिएको नासाले जनाएको छ।
यानले केन्द्रमा रहेका अन्तरिक्षयात्रीका लागि आवश्यक सामग्रीसँगै विभिन्न वैज्ञानिक अध्ययनका उपकरण पुर्याएको छ। तीमध्ये अन्तरिक्ष केन्द्रका लागि रोल–आउट सौर्य प्यानलको अन्तिम सेट, न्यून गुरुत्वाकर्षणमा कृत्रिम रेटिना उत्पादन गर्न आवश्यक उपकरण र ठूलो मात्रामा औषधि परीक्षण अघि बढाउन प्रयोग गरिने त्रिआयामिक मुटुका तन्तुका नमुना छन्।
यान नोभेम्बरको मध्यसम्म अन्तरिक्ष केन्द्रमै रहनेछ। त्यसपछि समय-संवेदनशील अनुसन्धान सामग्री र अन्य सामान लिएर पृथ्वी फर्कने क्रममा क्यालिफोर्नियाको तटबाट समुद्रमा अवतरण गर्ने तालिका छ।
यो नासाका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा स्पेसएक्सको ३५औँ व्यावसायिक पुनःआपूर्ति अभियान हो।





