शिक्षाविद आङ दावा शेर्पाको निधन

ड्रागन मिडिया सम्वाददाता
शिक्षाविद्, बौद्ध अध्ययनका अध्येता तथा सामाजिक अभियन्ता आङ दावा शेर्पाको अमेरिकामा बुधबार निधन भएको छ।
वि.सं. २०१० मा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–५, सेर्गामा जन्मिएका शेर्पाले शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका थिए। उनी जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापकबाट सेवानिवृत्त भएका थिए।
उनले लुम्बिनी विकास कोषको सदस्यसचिवका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालेका थिए। सन् १९९८ मा आयोजित पहिलो विश्व बौद्ध शिखर सम्मेलनको सञ्चालन समितिका सदस्यसचिव र सन् २००४ मा भएको दोस्रो विश्व बौद्ध शिखर सम्मेलनको मूल आयोजक समितिका सदस्यसचिवका रूपमा पनि उनले काम गरेका थिए। अशोक स्तम्भको शतवार्षिकी समारोहमा समेत उनी सदस्यसचिव थिए।
शिक्षकका हकहितका लागि उनले सोलुखुम्बुमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र नेपाल शिक्षक सङ्घको जिल्ला शाखा स्थापना गरी दुवैको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाल शिक्षक सङ्घको केन्द्रीय समितिका उपाध्यक्ष पनि भएका थिए।
शेर्पा बौद्धनाथ क्षेत्र विकास समितिका सल्लाहकार, नेपाल शेर्पा सङ्घ अमेरिका र शेर्पा किदुग अमेरिकाका सल्लाहकार तथा शेर्पा सेवा केन्द्र काठमाडौँका संरक्षक सदस्य थिए। जनसेवा समिति सोलुखुम्बुका संस्थापक सदस्यसचिवका रूपमा पनि उनी सामाजिक सेवामा सक्रिय थिए।
उनको जीवनका भोगाइ र अनुभव समेटिएको आत्मकथा निधन हुनुभन्दा केही दिनअघि मात्रै प्रकाशित भएको थियो। उनको निधनप्रति विभिन्न सामाजिक, शैक्षिक तथा बौद्ध सङ्घसंस्थाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।





