३० आश्विन २०८३, शुक्रबार

नाम्खा–पुलान भगिनी सम्बन्धका लागि कर्णालीको सिफारिस

ड्रागन मिडिया सम्वाददाता

कर्णाली प्रदेश सरकारले हुम्लाको नाम्खा गाउँपालिका र चीनको पुलान काउन्टीबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। प्रस्ताव कार्यान्वयनका लागि संघीय सरकारको स्वीकृति आवश्यक पर्नेछ।

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार कर्णाली प्रदेश मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यले सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि अध्यक्ष लामा र पुलान काउन्टीको ताक्लाकोटका स्थानीय अधिकारीले भगिनी सम्बन्ध स्थापनाबारे सहमति जनाउँदै आशयपत्रमा हस्ताक्षर गरेका थिए।

आशयपत्रमा समानता र पारस्परिक लाभका आधारमा अर्थतन्त्र, संस्कृति, पर्यटन, कृषि तथा पशुपालनका क्षेत्रमा अनुभव आदानप्रदान र सहकार्य गर्ने उल्लेख छ। सम्बन्ध कायम भएपछि दुवै स्थानीय तहबीच सहकार्यका नयाँ अवसर खुल्ने अपेक्षा गरिएको छ।

प्रस्ताव अघि बढाउन अध्यक्ष लामा काठमाडौँ आएका छन्। नेपाल सरकारबाट स्वीकृति र मन्त्रिपरिषद्को अनुमोदनपछि भगिनी सम्बन्ध कायम गर्ने प्रक्रिया कार्यान्वयनमा जानेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button