भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनाको मृत्यु प्रमाणीकरण प्रक्रिया सुरु

ड्रागन मिडिया सम्वाददाता
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनाको कानुनी अवस्था यकिन गरी मृत्यु प्रमाणीकरण गर्ने प्रक्रिया सुरु भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बेपत्ता व्यक्तिको आधिकारिक विवरण सङ्कलन र प्रमाणीकरणका लागि जिल्लाका स्थानीय तहलाई प्रक्रिया र समयसीमा तोकेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार स्थानीय तहले बिहीबारदेखि वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन माग्नेछन्।
परिवारका सदस्यले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभए वडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी निवेदन पेस गर्नुपर्नेछ। वडा समितिले जाँचबुझपछि स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्नेछ।
निवेदनमाथि तीन दिन दाबीविरोधको समय दिएपछि स्थानीय तहले अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनेछ। जिल्ला समितिले पाँच दिनभित्र निर्णय गरी विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था छ।
सम्बन्धित वडाले बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ भित्र पालिकामा बुझाउनुपर्नेछ। स्थानीय विपद् समितिको निर्णयसहितको विवरण कात्तिक १८ भित्र जिल्ला समितिमा पेस गर्नुपर्नेछ। विवरण निर्धारित समयअघि प्राप्त भए प्रक्रिया पनि अगावै अघि बढाइने अधिकारीले बताए।
नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी अध्यादेश र ‘बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया, २०८३’ अनुसार प्रमाणीकरणको काम अघि बढाइएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीमा बेपत्ता भएका चार जनाको मृत्यु पुष्टि भइसकेको छ।





