रूपन्देहीमा दुई महिनामै ८१ उद्योग र १२७ वाणिज्य फर्मको लगत कट्टा

ड्रागन मिडिया सम्वाददाता
रूपन्देहीमा उद्योग तथा वाणिज्य फर्म बन्द हुने क्रम जारी छ। घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा ८१ उद्योग र १२७ वाणिज्य फर्मको लगत कट्टा गरिएको छ।
कार्यालयका सूचना अधिकारी मोहन परियारका अनुसार यही अवधिमा २३५ उद्योग र ४०४ वाणिज्य फर्म दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका ३२२ उद्योग र ४५५ वाणिज्य फर्मसहित जम्मा ७७७ संस्थाको लगत कट्टा गरिएको थियो।
आव २०८२/८३ को अन्त्यसम्म रूपन्देहीमा २० हजार पाँच उद्योग र पाँच हजार ३५९ वाणिज्य फर्म दर्ता थिए। दर्ता तथा नवीकरणबाट कार्यालयले गत आवमा दुई करोड ६० लाख तीन हजार ४८१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
व्यवसायीले कारोबार घट्नु, लगानीअनुसार प्रतिफल नपाउनु र व्यावसायिक वातावरण अनुकूल नहुनुलाई उद्योग तथा फर्म बन्द हुनुका कारण बताएका छन्। कतिपयले दर्ता गरे पनि व्यवसाय सञ्चालन गर्न नसकेको र केहीले सञ्चालनमा रहेका व्यवसाय बन्द गर्नुपरेको बताएका छन्।
उद्यमशीलता प्रवर्द्धनका लागि कार्यालयले चालु आवमा १५ प्रकारका निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।





