विजयादशमी सन्देशमा राजा ज्ञानेन्द्रबाट सुशासन र राष्ट्रिय एकतामा जोड

ड्रागन मिडिया सम्वाददाता
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विजया दशमी २०८३ को शुभकामना सन्देश जारी गर्दै विपद् प्रभावितको शीघ्र पुनर्स्थापना, सुशासन र राष्ट्रिय एकतामा जोड दिइएको छ। निर्मल निवासबाट असोज ३० गते जारी सन्देशमा उहाँले देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक र प्रशासनिक अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ।
यस वर्षको वर्षायाममा भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको बाढी तथा विभिन्न जिल्लामा भएको अविरल वर्षाबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उहाँले विपद्को पीडालाई देशकै साझा पीडाका रूपमा लिनुभएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित नागरिकको यथाशीघ्र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने उहाँको सन्देश छ।

बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्परा जोगाउँदै कूटनीतिक चातुर्य अपनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ। नेपाललाई साझा इतिहास, आस्था, संस्कृति र पहिचानका रूपमा उल्लेख गर्दै एक क्षेत्रका नागरिकले अर्को क्षेत्रका नागरिकको पीडामा साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति भएको उहाँको सन्देशमा उल्लेख छ।
देशको अवस्था अस्तव्यस्त हुनु, विभिन्न क्षेत्रको अधोगति र अर्थतन्त्र कमजोर हुनुका कारणबारे प्रश्न उठाउँदै सन्देशमा कुशासन, अस्थिरता र प्रजातान्त्रिक विधि–प्रक्रिया कमजोर हुनुलाई चुनौतीका रूपमा औँल्याइएको छ। राष्ट्रिय एकता र मौलिक मूल्य–मान्यताको रक्षा गर्दै राज्य सञ्चालनमा योग्य, सक्षम र निष्पक्ष व्यक्तिहरूको भूमिका बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
प्रकृतिसँग सन्तुलित सम्बन्ध कायम राख्दै संरक्षणको नीति अपनाउन तथा विपद् न्यूनीकरणका लागि पूर्वतयारी र सावधानी बढाउन पनि उहाँले आह्वान गर्नुभएको छ। शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै अघि बढ्न प्रेरणा दिँदै उहाँले नवदुर्गाले सबैलाई सत्य, न्याय र शक्तिको मार्गमा हिँड्ने सद्बुद्धि प्रदान गरून् भन्ने कामना गर्नुभएको छ।





