आईडीबीआई बैंकको बहुमत सेयर फेयरफ्याक्सलाई बेच्न स्वीकृति

ड्रागन मिडिया समाचार कक्ष
भारतको मन्तीपरिषदले आईडीबीआई बैंकको ६०.७२ प्रतिशत सेयर क्यानडाको फेयरफ्याक्स फाइनान्सियल होल्डिङ्सको सहायक कम्पनीलाई बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको छ। भारत सरकार र सरकारी जीवन बिमा निगमले आफ्नो संयुक्त सेयर हिस्सा बिक्री गर्न लागेका हुन्।
भारतको प्रेस सूचना ब्युरोका अनुसार प्रस्तावित कारोबारको मूल्य ५२ हजार ८७८ करोड भारतीय रुपैयाँ अर्थात् करिब ५ अर्ब ६० करोड अमेरिकी डलर छ। सरकारको ३०.४८ प्रतिशत र जीवन बिमा निगमको ३०.२४ प्रतिशत सेयर बिक्रीमा पर्नेछ।
मन्त्रिपरिषद्को स्वीकृतिले कारोबार पूरा भएको भने जनाउँदैन। सेयर हस्तान्तरण र व्यवस्थापन नियन्त्रण परिवर्तन हुन सम्बन्धित नियामक तथा अन्य आवश्यक प्रक्रिया पूरा हुन बाँकी छ। कारोबार सम्पन्न भएमा भारतीय बैंकिङ क्षेत्रमा विदेशी लगानीकर्ताको नियन्त्रणमा जाने यो ठूलो कारोबारमध्ये एक हुनेछ।




