३० आश्विन २०८३, शुक्रबार

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजारभन्दा बढी यात्रु बाहिरिए

ड्रागन मिडिया सम्वाददाता

बडादसैँ मनाउन घटस्थापनादेखि शुक्रबार बिहानसम्म काठमाडौँ उपत्यकाबाट तीन लाख ४८ हजार ३१४ जना यात्रु बाहिरिएका छन्। उपत्यकाका विभिन्न नाकाबाट लामो तथा छोटो दूरीका सार्वजनिक सवारीमा यात्रु गृहजिल्लातर्फ गएका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ जना उपत्यकाबाट बाहिरिएका थिए।

यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै बाहिरिएका हुन्।

यात्रु चाप बढेसँगै सवारीसाधन व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवसायीले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यका अनुसार सडक बिग्रिएका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न र उपत्यका फर्कन कठिनाइ भइरहेको छ। असोज २३ गते धादिङको गलौँदीमा पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए।

ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँका लागि हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले अग्रिम टिकट लिएका छन्। यात्रुको चाप बढ्दै जाँदा टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न महासङ्घले आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button