साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा खाद्यान्नमा छुट

ड्रागन मिडिया सम्वाददाता
चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेका सुपथ मूल्य पसलबाट चिनी, नुन, तेल, दाल, चामललगायत खाद्यवस्तु छुट मूल्यमा उपलब्ध भइरहेका छन्।
कर्पोरेसनका प्रबन्धक प्रज्वलमान प्रधानका अनुसार नेपाल सरकारको निर्देशनअनुसार असोज १ देखि कात्तिक मसान्तसम्म सुपथ मूल्य पसल सञ्चालन हुनेछन्। काठमाडौं उपत्यकासहित बनेपा र धुलिखेलमा १३ बिक्री केन्द्र तथा देशका अन्य २५ स्थानमा रहेका कार्यालयबाट सामग्री बिक्री भइरहेको उनले बताए।
सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो १०० रुपैयाँमा र नुन २४ रुपैयाँमा उपलब्ध छ। दाल, तेल, चिउरा, आँटा, मैदा र पिठोमा प्रतिकिलो सात रुपैयाँ छुट दिइएको छ। चामलमा प्रतिकिलो २५ देखि ३० रुपैयाँ तथा मरिच, मसला र चियापत्तीमा पाँचदेखि १० रुपैयाँसम्म छुट रहेको प्रधानले जानकारी दिए। अन्य सामग्रीमा वस्तुअनुसार १० देखि १५ रुपैयाँसम्म छुट दिइएको छ।
कर्पोरेसनका अनुसार सुपथ मूल्य पसलबाट खाना पकाउने ग्यास बिक्री सुरु भएपछि आपूर्ति सहज भएको छ। यसअघि टोकन प्रणालीबाट वितरण हुँदै आएको ग्यास अहिले सिलिन्डर लिएर आउने उपभोक्तालाई उपलब्ध गराइँदैछ।





