सिचाङको सम्पदा संरक्षण र विकासबाट नेपालले सिक्न सक्छ : वक्ताहरू

ड्रागन मिडिया सम्वाददाता
पूर्वउपसभामुख तथा सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट सांस्कृतिक सम्पदा र वातावरण संरक्षणसँगै आधुनिक विकासका विषयमा नेपालले सिक्न सक्ने बताएकी छन्।
साइनो नेपाल सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन समाजले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले संस्कृति संरक्षणलाई रोजगारी र पर्यटनसँग जोड्ने सिचाङको अभ्यास नेपालका लागि उपयोगी हुन सक्ने बताइन्।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाल र सिचाङबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताए। सिचाङको रेलमार्ग, सुरुङमार्ग र आधुनिक पूर्वाधार विकासबाट पनि नेपालले सिक्न सक्ने उनको भनाइ थियो।
सिचाङ भ्रमणबाट फर्किएको टोलीका सदस्य तथा बौद्ध दर्शनका जानकार मोहनकुमार तामाङले नेपाल र सिचाङका गुम्बा तथा बौद्ध सम्पदाबीचको सम्बन्धबारे प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए। कलाकार राजु पौडेल र वरिष्ठ पत्रकार दीपक रिजालले पनि सम्पदा संरक्षण, सरसफाइ, अनुशासन र पूर्वाधार विकासका अभ्यासबाट नेपालले सिक्न सक्ने बताए।
कार्यक्रममा नेपाल र सिचाङका सांस्कृतिक सम्पदा तथा पर्यटन क्षेत्रसम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो।





