नेपालका लागि भारतको राजदूतमा सुधाकर दलेला नियुक्त

ड्रागन मिडिया सम्वाददाता
भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दलेलाको नियुक्ति सार्वजनिक गरेको हो। उनले छिट्टै जिम्मेवारी सम्हाल्ने मन्त्रालयले जनाएको छ।
दलेला हाल भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत छन्। सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका उनले यसअघि तीन वर्ष भुट्टानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए।
उनले तेल अभिभबाट कूटनीतिक सेवा सुरु गरेका थिए। ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टनस्थित भारतीय नियोगमा पनि उनले सेवा गरेका छन्। सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशक रहेका दलेलाले दक्षिण एसियाली छिमेकी, पूर्वी एसिया र हिन्द–प्रशान्त क्षेत्रसँगको सम्बन्धका विषयमा काम गरेका थिए।
भारतको विदेश मन्त्रालयको उत्तर महाशाखामा निर्देशक र पछि सहसचिवका रूपमा काम गर्दा उनले नेपाल र भुटानसँगको सम्बन्ध हेरेका थिए। दलेलासँग व्यापार तथा आर्थिक नीतिको अनुभव पनि छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा र विश्व व्यापार संगठनका लागि भारतको स्थायी नियोगमा दुईपटक काम गरेका छन्।
उनले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्थान लिनेछन्। श्रीवास्तव सन् २०२२ देखि नेपालमा कार्यरत छन्।





