स्टारसिल्डमा युक्रेनको पहुँच रोक्ने आदेश आफूले नदिएको ट्रम्पको दाबी

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सेनाको स्टारसिल्ड उपग्रह सञ्चार सेवामा पहुँच सीमित गर्ने निर्णयमा ह्वाइट हाउसको संलग्नता अस्वीकार गरेका छन्। आफूले आदेश नदिएको र स्पेसएक्सका प्रमुख एलन मस्कले पनि दिएको जस्तो नलागेको उनले बताएका छन्।
युक्रेनको पहुँच कसले सीमित गरेको हो भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले आफूलाई थाहा नभएको बताए। स्टारसिल्ड सेवा पहिले जसरी सञ्चालन हुँदै आएको थियो, अहिले पनि त्यसैगरी चलिरहेको आफूले बुझेको उनको भनाइ थियो। पहुँच रोक्ने निर्णय वास्तवमै भएको थियो कि थिएन भन्नेमा पनि आफू निश्चित नरहेको उनले बताए।
यसअघि रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै युक्रेनको स्टारसिल्ड पहुँच सीमित गर्ने आदेश ह्वाइट हाउसबाट आएको समाचार प्रकाशित गरेको थियो। ट्रम्पको पछिल्लो भनाइ त्यस समाचारको खण्डनका रूपमा आएको हो।





