युक्रेनका रणनीतिक पूर्वाधारमा रुसी सेनाको प्रहार जारी : गेरासिमोभ

ड्रागन मिडिया समाचार कक्ष
रुसी सेनाले युक्रेनी सेनाले उपयोग गर्ने रणनीतिक पूर्वाधारमा आक्रमण जारी राखेको रुसी सशस्त्र बलको जनरल स्टाफका प्रमुख भालेरी गेरासिमोभले बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएको जानकारीअनुसार यस्ता आक्रमणमा ७६ वटा रसद केन्द्र तथा गोदाम, बन्दरगाहका २०३ पूर्वाधार र युक्रेनका लागि सैन्य सामग्री ढुवानी गर्ने ९३ पानीजहाज ध्वस्त भएका छन्।
जनरल स्टाफको योजनाअनुसार रणनीतिक महत्त्वका पुल, रेलमार्गका संरचना र युक्रेनी सशस्त्र बललाई सहयोग गर्ने तथ्याङ्क केन्द्रलाई लक्ष्य बनाएर आक्रमण गरिएको गेरासिमोभले बताए।
काला सागर क्षेत्रमा रुसी जलयातायात रोक्ने युक्रेनी नेतृत्वको प्रयासको जवाफमा युक्रेनका बन्दरगाह, रसद पूर्वाधार र पानीजहाजमाथि व्यवस्थित आक्रमण गरिएको उनको भनाइ छ। ती आक्रमणका कारण युक्रेनका मुख्य काला सागर बन्दरगाहको सञ्चालन ठप्प भएको उनले दाबी गरे।





