जापानको बढ्दो आणविक महत्वाकाङ्क्षाप्रति चीनको आपत्ति

ड्रागन मिडिया समाचार कक्ष
चीनले जापानको आणविक हतियारसम्बन्धी नीतिमा सम्भावित छुटबारे प्रधानमन्त्री साने ताकाइचीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले शुक्रबार ताकाइचीका भनाइले जापानी अधिकारीहरूको बढ्दो आणविक महत्वाकाङ्क्षा पुनः उजागर गरेको बताइन्।
अक्टोबर १४ मा प्रतिनिधिसभाको बजेट समितिमा ताकाइचीले पूर्वपरराष्ट्रमन्त्री कात्सुया ओकादाको प्रस्तावबारे “छलफलको ठाउँ अझै रहेको” बताएकी थिइन्। ओकादाले असाधारण परिस्थिति उत्पन्न भएमा अमेरिकी सेनालाई जापानमा आणविक हतियार ल्याउन अनुमति दिन सकिने सुझाव दिएका थिए। चीनका अनुसार ताकाइचीको भनाइले जापानका तीन गैरआणविक सिद्धान्तमा सम्भावित अपवादको सङ्केत गर्छ।
माओले जापानको वर्तमान सरकारले अन्तर्राष्ट्रिय अप्रसारसम्बन्धी दायित्व बेवास्ता गर्दै सहयोगी मुलुकसँग आणविक प्रतिरोधको व्यवस्था बलियो बनाउने, तीन गैरआणविक सिद्धान्त त्याग्ने, आणविक शक्तिबाट चल्ने पनडुब्बी भित्र्याउने र जापानमा आणविक हतियार तैनाथ गर्ने दिशामा अघि बढ्न खोजेको आरोप लगाइन्। यस्ता कदमले एसिया र विश्वको शान्ति तथा स्थिरतामा गम्भीर खतरा उत्पन्न गर्ने उनको भनाइ थियो।
जापान इनोभेसन पार्टीले आणविक शक्तिबाट चल्ने पनडुब्बी ल्याउन गरेको प्रस्तावबारे सोधिएको प्रश्नमा ताकाइचीले ठोस र व्यावहारिक छलफल गर्ने बताएको समाचारमा उल्लेख छ।
माओले युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्ने र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने विषयमा “छलफलको ठाउँ नरहेको” बताइन्। उनले जापानलाई अन्तर्राष्ट्रिय समुदायको चिन्ता सम्बोधन गर्न, जापानी सैन्यवादका ऐतिहासिक अपराधबारे गम्भीर आत्मसमीक्षा गर्न, पुनःसैन्यीकरण र आणविक हतियार निर्माणका प्रयास पूर्ण रूपमा त्याग्न तथा अन्तर्राष्ट्रिय समुदायको विपक्षमा उभिने अवस्था फेरि ननिम्त्याउन आग्रह गरिन्।
जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले जापानसँग आणविक हतियार वा रणनीतिक बमवर्षक नभएको, तर चीनसँग दुवै रहेको भन्दै चीनको आलोचना गरेको विषयमा पनि माओलाई प्रश्न गरिएको थियो। जवाफमा उनले दोस्रो विश्वयुद्धमा पराजित मुलुक तथा आणविक हतियार अप्रसार सन्धिको आणविक हतियार नभएको पक्षकारका रूपमा जापानले आफ्नो रक्षामुखी नीतिको सीमा उल्लङ्घन गर्न र आणविक हतियार राख्न नहुने बताइन्।
“इतिहास र कानुनका विषयमा जापानी राजनीतिज्ञहरूले आफ्ना पाठ फेरि पढ्नुपर्छ,” माओले भनिन्।





