१ कार्तिक २०८३, शनिबार

बडादसैँको शुभकामना दिँदै राष्ट्रपति पौडेलद्वारा बाढीपीडितको पुनःस्थापनामा जुट्न आह्वान

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। उनले चाडपर्वको खुसीसँगै बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनामा सबै पक्ष एकजुट हुन पनि आह्वान गरेका छन्।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले दसैँले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक समाजमा पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भ्रातृत्वलाई बलियो बनाउने उल्लेख गरेका छन्। भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताबीच सामाजिक एकता कायम राख्न र राष्ट्रिय पहिचान जोगाउन पनि पर्वले योगदान पुर्‍याएको उनको भनाइ छ।

विजयादशमीमा दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको प्रसङ्ग स्मरण गर्दै उनले दसैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्व बताएका छन्। पारिवारिक जमघट र खुसी साटासाटसँग जोडिएको यस पर्वको सामाजिक, धार्मिक, सांस्कृतिक र राष्ट्रिय महत्त्व रहेको उनले उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। बाढी प्रभावितको पुनःस्थापनाका लागि सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न उनले अपिल गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button