विश्वकप लिग–२मा आज नेपाल र क्यानडाबीच निर्णायक प्रतिस्पर्धा

ड्रागन मिडिया सम्वाददाता
ओमानमा जारी आइसिसी एकदिवसीय विश्वकप लिग–२ प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे शुरु हुनेछ।
अङ्कतालिकामा आफ्नो स्थान बलियो बनाउन दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ। लगातार तेस्रो जितको लक्ष्यमा रहेको नेपालले आज जितेमा एक खेल बाँकी छँदै शीर्ष छमा आफ्नो स्थान सुरक्षित गर्नेछ। सातौँ स्थानमा रहेको क्यानडालाई पनि शीर्ष छमा पर्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ।
नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई खेलमा अङ्क बाँड्दै २८ अङ्क जोडेको छ। क्यानडाले ३५ खेलबाट ११ जित, १९ हार र पाँच खेलमा अङ्क बाँड्दै २७ अङ्क हासिल गरेको छ।
नेपालले जारी शृङ्खलाका दुवै खेल जितेको छ। पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानलाई ११३ रनले हराएको थियो। क्यानडाले भने पछिल्लो खेलमा ओमानलाई ५८ रनले पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको क्यानडाले उक्त खेलमा २५६ रन बनाएको थियो।
नेपालले क्यानडाविरुद्ध २३५ र ओमानविरुद्ध २६३ रन बनाएको छ। शृङ्खलाका अहिलेसम्मका सबै खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेकाले टस र सुरुआती ब्याटिङले पनि नतिजामा प्रभाव पार्न सक्नेछ।
नेपाल र क्यानडाबीच भएका छ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्। सन् २०२४ मा क्यानडासँग पराजित भएपछि नेपालले पछिल्लो भेटमा जित निकालेको थियो।
आजको खेल जितेमा नेपालले शीर्ष छमा स्थान पक्का गर्नुका साथै ओमानसँगको अन्तिम खेलमा दबाब कम गर्नेछ। पराजित भएमा भने नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ।





