आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको पूजा गरिँदै

ड्रागन मिडिया सम्वाददाता
नवरात्रको सातौँ दिन आज आश्विन शुक्ल सप्तमीका अवसरमा दसैँघर र पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ। यसै दिन फूलपाती पनि भित्र्याउने परम्परा छ। वैदिक विधिअनुसार फूलपाती अपराह्नमा भित्र्याइन्छ।
धार्मिक मान्यताअनुसार काललाई समेत नष्ट गर्ने देवीको स्वरूप भएकाले उनलाई कालरात्रि भनिएको हो। पुराणहरूमा कालरात्रिलाई कृष्ण वर्ण र भयङ्कर स्वरूप भएकी देवीका रूपमा वर्णन गरिएको छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिन्छ। त्यसपछि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रिको पूजा गरिन्छ। आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गर्ने परम्परा छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गासप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। देवीको आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष पूजा गरिने र त्यसको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ मनाउँछन्।
नवरात्रको अवसरमा देशभरका शक्तिपीठमा पूजा तथा दर्शनका लागि भक्तजनको भीड लागेको छ।





