विजयादशमी मानवीय मूल्य र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव

ड्रागन मिडिया सम्वाददाता
उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमी धार्मिक आस्थाको पर्व मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्।
विजयादशमी २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बडादसैँले सत्य, न्याय र सदाचारको विजय हुने सन्देश दिनुका साथै मानिसलाई आफ्नो आचरण र व्यवहारको समीक्षा गर्ने अवसर प्रदान गर्ने उल्लेख गरेका छन्।
उनका अनुसार असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि मानवता, विवेक र नैतिक शक्तिको विजय हुने विश्वासलाई यस पर्वले बलियो बनाउँछ। विजयादशमीले सहिष्णुता, आत्मानुशासन, संयम र कर्तव्यप्रतिको निष्ठा बढाउन प्रेरित गर्ने उनले बताएका छन्।
लोभ, घृणा, अहङ्कार, ईर्ष्या र वैमनस्य त्यागेर सहकार्य, समर्पण, सद्भाव र मानवीय संवेदनाको बाटोमा लाग्न पनि दसैँले प्रेरणा दिने उपराष्ट्रपति यादवको भनाइ छ। व्यक्तिको आन्तरिक शुद्धीकरण र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्न यस पर्वको विशेष भूमिका रहेको उनले उल्लेख गरेका छन्।
दसैँलाई पुनर्मिलन र आत्मीयताको पर्वका रूपमा व्याख्या गर्दै उनले शिक्षा, रोजगारी वा व्यवसायका कारण टाढा रहेका व्यक्तिहरू यस अवसरमा प्रियजनसँग भेटघाट गरी सम्बन्ध नवीकरण गर्ने परम्परा रहेको बताएका छन्। ज्येष्ठको आशीर्वाद, अग्रजप्रतिको सम्मान र कनिष्ठप्रतिको स्नेहले पारिवारिक तथा सामाजिक सम्बन्ध बलियो बनाउने उनको भनाइ छ।
परम्परागत संस्कार, लोककला, सङ्गीत र सांस्कृतिक अभ्यासले राष्ट्रिय पहिचान समृद्ध बनाउने उल्लेख गर्दै यादवले तिनको संरक्षणमा दसैँको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्। सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्व झनै आवश्यक रहेको वर्तमान समयमा विभाजनभन्दा माथि उठेर साझा राष्ट्रिय हित र समुन्नत नेपाल निर्माणमा लाग्न उनले सबैलाई आह्वान गरेका छन्।





