शान्ति सुरक्षाका लागि सबै पक्षबीच सहकार्य आवश्यक

ड्रागन मिडिया सम्वाददाता
मुगुमा शान्ति सुरक्षा कायम गर्न नागरिक समाज, सञ्चारकर्मी, स्थानीय सरकार, सर्वसाधारण र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको प्रहरी अधिकारीहरूले बताएका छन्।
एकहत्तरौँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न प्रहरी प्रतिबद्ध रहेको बताए। अपराध नियन्त्रण र नागरिकको सुरक्षा प्रहरीको प्रयासबाट मात्र सम्भव नहुने भन्दै उनले समाजका सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।
बढ्दो विद्युतीय अपराधबारे नागरिकलाई सचेत गराउने, अपराधसम्बन्धी सूचना समयमै सुरक्षा निकायसम्म पुर्याउने र प्रहरीलाई सहयोग गर्ने वातावरण बनाउनुपर्नेमा अधिकारीहरूले जोड दिए।
समारोहमा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई सम्मान गरिएको थियो। उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी र सञ्चारकर्मीलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले प्रहरी दिवसले प्रहरीको योगदानको कदर गर्नुका साथै प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ गर्दै सुरक्षित समाज निर्माणमा सबैलाई जिम्मेवार बन्न प्रेरित गर्ने बताए।





