१ कार्तिक २०८३, शनिबार

पत्रकार श्रेष्ठलाई बिनासर्त रिहा गर्न महासंघको माग

ड्रागन मिडिया सम्वाददाता

नेपाल पत्रकार महासंघले पत्रकार किशोर श्रेष्ठलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरी साइबर ब्युरो लगिएको घटनाप्रति महासंघले आपत्ति जनाएको हो।

महासंघका अनुसार पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएको थियो। त्यससम्बन्धी उजुरीपछि एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोलीले शनिबार ललितपुरको नख्खुस्थित निवासबाट श्रेष्ठलाई पक्राउ गरेको महासंघले जनाएको छ।

समाचारप्रति चित्त नबुझेमा प्रचलित विधि र प्रेस काउन्सिलमार्फत समाधान खोज्नुपर्ने महासंघको भनाइ छ। साइबर ब्युरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानविपरीत भएको ठहर गर्दै महासंघले घटनाको भर्त्सना गरेको छ।

महासचिव रामप्रसाद दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठलाई रिहा गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। समाचारसम्बन्धी विवाद सम्बन्धित निकायबाट समाधान गर्न र आफ्नो क्षेत्राधिकार प्रभावकारी रूपमा प्रयोग गर्न महासंघले प्रेस काउन्सिल नेपाललाई पनि आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button