सेती नदीमा निर्माणाधीन दुई पुलको काम अन्तिम चरणमा

ड्रागन मिडिया सम्वाददाता
सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ। आगामी फागुन २१ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत पृथ्वीराजमार्गको पुरानो पुलको दायाँ र बायाँतर्फ नयाँ पुल बनिरहेका छन्। अपस्ट्रिम र डाउनस्ट्रिम नाम दिइएका दुवै पुल १९० मिटर लामा छन्। निर्माणका लागि २०७९ भदौ २६ मा एक अर्ब सात करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरले निर्माणमा देखिएका अवरोध हटिसकेको र काम निर्धारित समयभित्र सकिने अपेक्षा गरिएको बताएका छन्। घरटहरा मुआब्जासम्बन्धी विषय टुङ्गिएको र सम्बन्धित व्यक्तिले रकम बुझिसकेको उनको भनाइ छ।
निर्माण कम्पनीका अनुसार डाउनस्ट्रिम पुलको गर्डर निर्माण सकिएको छ भने चारवटा पाइलनको काम अन्तिम चरणमा पुगेको छ। अब मुख्य रूपमा स्टे केबलमा तनाव दिने काम भइरहेको छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको पुलको ठेक्का रसुवा कन्स्ट्रक्सन कम्पनीले पाएको थियो। तीन वर्षमा काम सक्ने लक्ष्य रहे पनि समयमै पूरा नभएपछि म्याद आगामी फागुन २१ सम्म थपिएको छ।
आयोजना प्रमुख कुँवरका अनुसार चीनबाट जनशक्ति तथा निर्माण सामग्री ल्याउन भएको ढिलाइ, खानेपानीका पाइप सार्नुपर्ने र सडक पहुँच, जग्गा प्राप्ति तथा मुआब्जासम्बन्धी समस्याले काम प्रभावित भएको थियो। एसियाली विकास बैंकको नीतिअनुसार जग्गाधनी र व्यवसायीलाई सडक पहुँच दिनुपर्ने भएपछि दुई घर भत्काइएको थियो।
हालको पुल २०३२ सालमा बनेको हो। साँघुरो भएपछि त्यसको दायाँ र बायाँतर्फ थप पुल निर्माण थालिएको हो।





