१ कार्तिक २०८३, शनिबार

हुम्लामा विधिपूर्वक भित्र्याइयो फूलपाती

ड्रागन मिडिया सम्वाददाता

बडादसैँको सातौँ दिन शनिबार हुम्लामा नवदुर्गा भवानीको सातौँ स्वरूप देवी कालरात्रिको पूजा गरी विधिपूर्वक फूलपाती भित्र्याइएको छ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको नेतृत्वमा सुरक्षाकर्मीको टोली सदरमुकाम सिमकोटबाट एक घण्टा पैदल हिँडेर सिमकोट गाउँपालिका–५ स्थित थलाहाल्न पुगेको थियो। त्यहाँको दुर्गा मन्दिरमा पूजाअर्चना गरेपछि फूलपाती दसैँघरमा भित्र्याइएको हो।

गुरागाईंका अनुसार फूलपातीमा नौ प्रकारका पवित्र बिरुवा तथा पालुवाको मिश्रण समावेश हुन्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयका दसैँघरमा फूलपाती भित्र्याइएको थियो। मन्दिरबाट फूलपाती ल्याएपछि नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

कार्यक्रममा सुरक्षा निकाय र सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरू सहभागी थिए। सर्वसाधारणले पनि घरघरमा स्थापना गरिएका नवदुर्गाका मन्दिरमा फूलपाती भित्र्याएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button