दिल्लीमा मतदाता सूची संशोधनविरुद्ध प्रदर्शन, युवा समूहका संस्थापकसहित पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
भारतको राजधानी नयाँदिल्लीमा मतदाता सूची संशोधनको विरोधमा प्रदर्शन भएपछि प्रहरीले ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के, विद्यार्थी नेता नेहा बोरा र समर्थकहरूलाई पक्राउ गरेको छ। शुक्रबार कनट प्लेस क्षेत्रमा राष्ट्रिय झण्डा बोकेर भेला भएका सयौँ प्रदर्शनकारीले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका थिए।
युवा नेतृत्वको ककरोच जनता पार्टी, विपक्षी समूह र विद्यार्थी सङ्गठनले मतदाता सूची संशोधनले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई फाइदा पुर्याएको आरोप लगाउँदै यसै महिनादेखि लगभग दैनिक प्रदर्शन गर्दै आएका छन्। निर्वाचन आयोगले भने कुनै दललाई पक्षपात नगरेको र गल्तीवश नाम हटाइएका मतदाताले पुनः नाम दर्ता गर्न सक्ने जनाएको छ।
रोयटर्सका अनुसार संशोधनका क्रममा १३ करोडभन्दा बढी नाम हटाइएका छन्। निर्वाचन आयोगले हटाइएकामध्ये २ करोड ८० लाख मृतक, ६ करोड ३० लाख अन्यत्र सरेका र ३ करोड व्यक्ति सम्पर्कमा नआएका जनाएको छ। आयोग र सत्तारूढ दलले अल्पसङ्ख्यक समुदाय बढी प्रभावित भएको विपक्षीको आरोप अस्वीकार गरेका छन्। दिल्ली प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा यसै साता दुई पार्टी नेतालाई पाँच दिनका लागि जेल पठाइएको थियो। शुक्रबार पनि करिब ५०० प्रदर्शनकारी कनट प्लेसका विभिन्न स्थानमा पुगेका थिए; केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।





