जैविक विविधता ह्रास रोक्न येरेवान घोषणापत्र

ड्रागन मिडिया समाचार कक्ष
जैविक विविधताको ह्रास रोक्न र त्यसलाई उल्ट्याउन अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्दै कार्यान्वयन तीव्र पार्नुपर्ने आह्वानसहित येरेवान घोषणापत्र जारी भएको छ। अर्मेनियाको राजधानी येरेवानमा शुक्रबार आयोजित जैविक विविधतासम्बन्धी नेताहरूको सम्मेलनले “प्रकृतिका लागि कार्य” शीर्षकको घोषणापत्र अनुमोदन गरेको हो।
जैविक विविधतासम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको १७औँ सम्मेलन (कोप–१७) अघि भएको भेलामा राष्ट्र तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, स्थानीय समुदाय र अन्य सरोकारवालाहरू सहभागी थिए। अर्मेनियाका वातावरणमन्त्री तथा कोप–१७ का अध्यक्षका लागि मनोनीत हम्बार्जुम मातेभोस्यानले घोषणापत्र प्रस्तुत गरेका थिए।
घोषणापत्रले जैविक विविधतासम्बन्धी महासन्धि र कुनमिङ–मोन्ट्रियल विश्वव्यापी जैविक विविधता ढाँचाको प्रभावकारी कार्यान्वयनप्रतिको प्रतिबद्धता दोहोर्याएको छ। उक्त ढाँचाले सन् २०३० सम्म जैविक विविधताको ह्रास रोक्ने र उल्ट्याउने तथा सन् २०५० सम्म प्रकृतिसँग मेलमिलापमा जीवनयापन गर्ने लक्ष्य राखेको छ।
ढाँचाको कार्यान्वयनसम्बन्धी पहिलो विश्वव्यापी प्रतिवेदनले सामूहिक प्रयास र प्रगति पर्याप्त नभएको देखाएको भन्दै घोषणापत्रले कार्यान्वयन तीव्र पार्नुपर्ने जनाएको छ। यसका लागि सरकारका सबै तह र समाजका विभिन्न पक्षलाई सहभागी गराउने, सार्वजनिक नीति तथा आर्थिक क्षेत्रमा जैविक विविधतालाई समेट्ने र स्थल, स्वच्छ पानी, तटीय तथा सामुद्रिक पारिस्थितिक प्रणालीको संरक्षण र पुनःस्थापना गर्ने प्रतिबद्धता गरिएको छ।
घोषणापत्रले अनुगमन, योजना, प्रतिवेदन र समीक्षा सुधार्न, जैविक विविधतासम्बन्धी तथ्याङ्क तथा ज्ञान प्रणाली सुदृढ गर्न र विज्ञानमा आधारित निर्णयलाई प्रोत्साहन गर्न पनि जोड दिएको छ। सार्वजनिक तथा निजी स्रोतबाट पर्याप्त, पूर्वानुमानयोग्य र समयमै उपलब्ध हुने वित्त जुटाउनुपर्ने उल्लेख गर्दै विकासशील, अति कम विकसित र साना टापु राष्ट्रहरूलाई कार्यान्वयनमा सहयोग गर्न अन्तर्राष्ट्रिय साझेदारी, क्षमता विकास र प्रविधि हस्तान्तरण बढाउन आह्वान गरिएको छ।





