महागौरीको विधिपूर्वक पूजा आराधना

ड्रागन मिडिया सम्वाददाता
बडादशैं तथा नवरात्रको आठौँ दिन आज नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल अष्टमीका दिन महागौरीको विधिपूर्वक पूजा गर्ने वैदिक सनातनी परम्परा छ।
धार्मिक मान्यताअनुसार महागौरीले कठोर तपस्या गरेर गोरो वर्ण प्राप्त गरेकी हुन्। भगवान् शिवले उनलाई ‘काली’ भनेपछि चित्त दुखाएकी देवीले तपस्या गरेको र त्यसपछि उनको वर्ण गोरो भएको पुराणमा उल्लेख छ। शास्त्रीय वर्णनमा महागौरीलाई सेतो वृषभमा सवार, श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा चित्रण गरिएको छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै शैलपुत्रीको पूजा गरिएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रिको आराधना गरिएको हो। फूलपातीका दिन सातौँ देवी कालरात्रिको पूजा गरिएको थियो। भोलि नवौँ दिन सिद्धिदात्रीको पूजा गरिनेछ।
नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने चलन छ। यसबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। पूजापछि चढाइएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरिन्छ। यसरी नेपालीले १५ दिनसम्म बडादशैं मनाउने परम्परा छ।
नवरात्रको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ। फूलपातीदेखि सार्वजनिक बिदा शुरु भएकाले मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको छ।





