पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

ड्रागन मिडिया सम्वाददाता
पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी सङ्कलन भएको छ। साउनदेखि असोजसम्म २० हजार ५२२ तीर्थयात्रीले मन्दिरको दर्शन गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउनमा दुई हजार ४६९ दर्शनार्थीबाट तीन लाख १८ हजार ५०० रुपैयाँ, भदौमा छ हजार १२३ जनाबाट १३ लाख ६७ हजार रुपैयाँ र असोजमा ११ हजार ९३० जनाबाट १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी सङ्कलन भएको हो।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले वर्षायाम सकिएपछि मौसममा सुधार र बडादशैंको नवरात्रका कारण असोजमा दर्शनार्थीको सङ्ख्या बढेको बताए। भेटी सङ्कलन र दर्शनार्थीको विवरण पारदर्शी बनाउन समितिले नियमित रूपमा तथ्याङ्क सार्वजनिक गर्दै आएको छ।





