चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन प्रहरीको आग्रह

ड्रागन मिडिया सम्वाददाता
गण्डकी प्रदेश प्रहरीले बडादसैँलगायत चाडपर्वका बेला चोरी, ठगी, लुटपाट र दुर्घटनाबाट जोगिन सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
घर छाडेर बाहिर जाँदा झ्यालढोका राम्रोसँग बन्द गर्न, छिमेकीलाई निगरानीका लागि अनुरोध गर्न र भीडभाडमा गरगहना, मोबाइल तथा नगद सुरक्षित राख्न प्रहरीले सुझाव दिएको छ। अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, बैंकको चेक, एटीएम कार्ड र गोप्य सङ्केत अरूलाई प्रयोग गर्न नदिन तथा सुन वा विदेशी मुद्रा साट्ने बहानामा हुन सक्ने ठगीबाट जोगिन पनि आग्रह गरिएको छ।
पटका तथा अन्य विस्फोटक पदार्थ नचलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र क्षमताभन्दा बढी यात्रु वा सामान नबोक्न प्रहरीले सचेत गराएको छ। चर्को आवाजमा ध्वनि विस्तारक नबजाउन तथा जुवा, तास र झैझगडाबाट टाढा रहन पनि अपिल गरिएको छ।
कुनै समस्या परे नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।





