३ कार्तिक २०८३, सोमबार

मलासका खसीबोका घटे, महेन्द्रनगरको दशैं बजार प्रभावित

ड्रागन मिडिया सम्वाददाता

डडेलधुराको मलास क्षेत्रबाट महेन्द्रनगर ल्याइने खसीबोकाको संख्या यस वर्ष घटेको छ। काठमाडौँका व्यापारीले गाउँमै पुगेर धेरै खसीबोका खरिद गरेपछि स्थानीय बजारमा आपूर्ति कम भएको र उपभोक्तालाई खरिद गर्न कठिन भएको स्थानीयले बताएका छन्।

परशुराम नगरपालिका–गप्तीगडाका जिते धामी दुई दशकदेखि दशैंतिहारका लागि खसीबोका ल्याएर महेन्द्रनगरमा बिक्री गर्दै आएका छन्। यस वर्ष गाउँमा खसीबोका कम पाइनु र काठमाडौँका व्यापारीले महँगोमा खरिद गरेर लैजानुका कारण आफूहरूले थोरै मात्र ल्याउन पाएको उनले बताए। विगतमा १०–१२ जना व्यापारीले अढाईदेखि तीन सयसम्म खसीबोका ल्याउने गरेकामा यसपालि त्यसको आधा मात्रै आएको उनको भनाइ छ।

मलासबाट खसीबोकासहित पैदल महेन्द्रनगर पुग्न तीन दिन लाग्छ। बाटोमा बास र खानाको व्यवस्था गर्न कठिन हुनुका साथै स्थानीय तहले कर माग्ने गरेको धामीको गुनासो छ। बेदकोट नगरपालिका क्षेत्रमा नगर प्रहरीले कर नतिरे जान नदिने बताएपछि लामो छलफल गर्नुपरेको उनले बताए। विगतका वर्षमा पनि मलासबाट खसीबोका ल्याउनेले दुई सयदेखि एक हजार रुपैयाँसम्म कर तिरेको व्यापारीहरूले बताएका छन्।

गप्तीगडाकै जया कामीले यसपालि आफूले पालेका पाँच खसीबोका मात्र बिक्रीका लागि ल्याएका छन्। सडकमा खान र सुत्नुपर्ने तथा खसीबोका चोरी हुने डरले व्यापारीहरूले पालैपालो हेरचाह गर्नुपर्ने अवस्था रहेको उनले बताए।

मलास क्षेत्रका खसीबोका महेन्द्रनगर, धनगढी र काठमाडौँसम्म बिक्रीका लागि पुग्ने गरेका छन्। यस वर्ष गाउँमै खरिद बढेकाले महेन्द्रनगर आउने संख्या घटेको र स्थानीय बजारमा प्रतिकिलो ६५० देखि ७५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button