तिथि वृद्धि हुँदा आज पनि महाअष्टमीका पूजा

ड्रागन मिडिया सम्वाददाता
यस वर्ष तिथि वृद्धि भई अष्टमी दुई दिन परेकाले आज नवरात्रको नवौँ दिन पनि महाअष्टमीकै पूजा तथा धार्मिक कर्म दोहोर्याइँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन अष्टमी परेका छन्। त्यसैले पूजा कोठा र दशैंघरमा आज पनि अष्टमीकै विधिअनुसार पूजा गर्नुपर्ने समितिले जनाएको छ।
समितिका पूर्वसदस्य तथा वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार आज नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा गरिनेछ। तिथि वृद्धि हुँदा यसपालिको नवरात्र दशरात्रको बनेको भए पनि देवीको साधना र आराधनामा एक दिन थपिँदा धार्मिक विधिमा फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।
हनुमानढोका दरबारमा भने महाअष्टमीको विशेष कालरात्रि पूजा आज सोमबार राति गरिने भएको छ। हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार महानवमीको कर्म महाअष्टमीको भोलिपल्ट गर्ने पुरानो परम्पराअनुसार समितिसँगको परामर्श र तलेजुका पुजारीको निर्णयमा आज राति मूल पूजा गर्न लागिएको हो।
हनुमानढोकाको दशैंघरमा आइतबार महाअष्टमीको सामान्य पूजा गरिएको थियो। आज तलेजु भवानीसमक्ष १०८ राँगा तथा बोकाको बलिसहित विशेष कालरात्रि पूजा, आराधना र तान्त्रिक अनुष्ठान गर्ने परम्परा छ।





