बाढीमा बेपत्ता भएकाहरूको विवरण बुझाउन परवानीपुरको आग्रह

ड्रागन मिडिया सम्वाददाता
पर्साको परवानीपुर गाउँपालिकाले गत भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण संकलन तथा प्रमाणीकरणका लागि परिवारजनसँग निवेदन मागेको छ।
गाउँपालिकाले सूचना जारी गर्दै बेपत्ता व्यक्तिका एकाघरका परिवारका सदस्यलाई सूचना प्रकाशित भएको पाँच दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायका अनुसार निवेदनमा बेपत्ता व्यक्तिको नाम, थर, ठेगाना र उमेर खुलाउनुपर्नेछ। बाढीमा परेका अन्य व्यक्तिको विवरण, नाता प्रमाणित गर्ने कागजात र व्यक्ति बाढीमा बेपत्ता भएको व्यहोरा खुल्ने स्वघोषणा पनि संलग्न गर्नुपर्नेछ।
बेपत्ता व्यक्तिका एकाघरका परिवारका सदस्य नभएमा सम्बन्धित वडाध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा विवरण यकिन गर्नुपर्नेछ। त्यसपछि सर्जमिन मुचुल्कासहित वडा कार्यालयमा निवेदन पेस गर्न गाउँपालिकाले जनाएको छ।





