किराँतको अस्तित्व मेटाउन मंगोलको हतियार !

भरत दाहाल, देशभक्त विचारक तथा राजनीतिक विश्लेषक
नेपालमा पश्चिमा मिसनरीहरुको एउटा अभियान देखिन्छ- ‘खस र मधेशी बाहेकका सबै मानिसहरु मंगोल हुन्।’ साम्राज्यवादीहरुका यस्ता भाष्यमा आधारित अभियानहरु पहिले पनि चलाईएका हुन्। जस्तो कि ‘थारुहरु मधेशी हुन्’। ‘नेपालको पुन: एकिकरण गोरखा साम्राज्यको विस्तार हो’। ‘नेपालमा धेरै राष्ट्रहरु छन्’। ‘खसहरु मुगल शासनको पालामा ईडियाबाट भागेर आएका हुन्’। विदेशीले चलाएको राज्य प्रणाली र NGO हरुले पालेका तत्वहरुको सत्तामा यस्ता प्रचारहरु अस्वाभाविक होईनन्।
‘किराँत’ र ‘मंगोल’ शब्दको व्युत्पत्ति
संस्कृत धातु विज्ञानका अनुसार ‘किर्त’ बाट किराँत बनेकोे हो, जसको अर्थ हुन्छ- ‘भगवानको प्रशंसा गर्ने व्यक्ति’। यजुर्वेद र अथर्ववेदले गंगाको मैदानको पूर्वमा बस्ने धनुर्धारी पहाडी मानिसहरुलाई किराँत भनेका छन्। इमान सिंह चेमजोङले यो शब्द ‘किरियट’ बाट आएको हो भन्ने मत राख्दछन्, जुन सेमिटिक/मोआबाइट शब्द हो, जसको अर्थ ‘किल्ला’ वा ‘शहर’ हो, जसले प्राचीन बसाइँसराइ वा जरालाई संकेत गर्दछ। महाभारतमा किरातहरुको पर्याप्त चर्चा छ। कुनै पनि शास्त्र वा इतिहासका साहित्यहरूले किरातहरुको मूल थलो नेपाल, बंगाल र सिक्किम हो भन्ने कुरामा कसैको विमती राखेका छैनन्। कुनै पनि शास्त्र वा इतिहासको साहित्यले किरातहरु मंगोल भएको र यो समुह मंगोलिया वा चीनबाट आएको देखाउँदैनन्। किरात यस क्षेत्रको अत्यन्त विशिष्ट प्रकारको मौलिक संस्कृति मानिन्छ।
मंगोल भनेको मङ्गोलिया, भित्री मङ्गोलिया (चीन) र रुसको साईबेरिया लगायत युरोपका केही भू-भागमा बसोबास गर्ने समूह हो। युरोपमा पाईने ‘तातार’ समुदाय पनि मंगोल हो। मंगोल समुदाय किरात जस्तो विशिष्ट पहिचानको नभएर मिश्रित पहिचानमा परिवर्तन भैसकेको छ। केही विद्वानहरुले मंगोल शब्द ‘मोङ्खे टेङ्ग्री गाल’ (अनन्त आकाशको आगो) बाट आएको मानेका छन्। चिनियाँ भाषाका श्रोतहरुमा यो शब्द ‘रौरान खगनाटे’ को पूर्वजको नाम ‘मुगुलु’ बाट आएको उल्लेख छ। मंगोल शब्दको उल्लेख पहिलो पटक दशौं सताब्दीको मध्यतिरको चिनियाँ साहित्य ‘ताङको पुरानो पुस्तक’ मा भयो, जसमा नवौं सताब्दिमा चीनको ‘अर्गुन’ नदि (मंगोलियाबाट चीनको भित्रि मंगोलिया सम्म् बग्ने नदी, जसले रूसको केही भागला छोएको छ) को किनारामा बस्ने ‘शिवेई’ समुदायलाई चिनाउनका लागि प्रयोग भएको थियो
ऐतिहासिक तथा मानवशास्त्रीय ग्रन्थहरूमा ‘मङ्गोलवाइड’ वा ‘मङ्गोल’ शब्दलाई प्रायः पूर्वी तथा मध्य-एसियाली शारीरिक विशेषताहरू (जस्तै आँखाको कुनामा छालाको पत्र वा सीधा कालो कपाल र उठेका गालाका हड्डीहरू) भएका मानिसहरूलाई जनाउन एक श्रेणीका रूपमा प्रयोग गरिन्थ्यो। किराँती मानिसहरूमा पनि यस्तै पूर्वीय वा हिमालयी शारीरिक विशेषताहरू पाइने भएकाले, पुराना लेखकहरूले कहिलेकाहीँ किराँतहरूलाई पनि ‘मङ्गोलवाइड’ शारीरिक स्वरूप अन्तर्गत राखेको पाइन्छ। उत्पत्तिको हिसाबले यो पूरै भ्रम हो। ल्याटिन अमेरिकाका मानिसहरु नेपालका खस जस्तै हुँदैमा तिनीहरु नेपालबाट गएको वा खसहरु त्यताबाट आएको हुँदैन।
किरातहरु तिब्बती/बर्मेली उत्पत्तिका भाषाहरू बोल्छन् जबकि मंगोलहरु मंगोल उत्पत्तिका भाषाहरु बोल्छन्। किरातहरुको थातथलो हिमालयको दक्षिण नेपाल देखि बंगाल र सिक्किमको पहाडी भू-भाग हो भने मंगोलहरु मध्य-एशिया र उत्तरपूर्वी एशिया केन्द्रित छन्। पछाडि इस्लामीकरण भए पनि मध्य-एशियाबाट ईण्डियामा शासन गर्न आईपुगेका मुगलहरु पनि मंगोल हुन्। तुर्कहरुसंग संबन्ध जोडिएपछि मंगोलहरुलाई स्थानिय भाषामा मुगल भन्न थालिएको हो। किरातहरु पहाडि बासिन्दा हुन् भने मंगोलहरु मैदानमा बस्थे। किरातहरुको वर्णण वेद र महाभारतहरुमा पनि छ तर ‘मंगोल’ शब्दको पहिलो प्रयोग दशौं सताब्दिमा मात्र भएको हो। तेह्रौं सताब्दिमा मंगोलियन बादशाह चंगेज खाँ को शासन कालमा ‘मंगोल’ शब्दलाई मंगोलिक भाषि सबै समुहहरुको साझा छाता शब्दका रुपमा प्रयोग गर्न थालियो।
के हो पश्चिमा खेल ?
नेपालीहरु कोही पनि मंगोल होईनन्। खस र मधेशी बाहेकका सांस्कृतिक समुदायहरु सबै किराँत पृष्ठभूमीसंग जोडिएका छन्। तर मिशनरी संगठनहरुले किरातीहरुलाई किन मंगोल बनाउन खोजिरहेका छन् ? यसको कारण पनि प्रष्ट छ। २०६३ पछि हामीले देख्यौं कि ईण्डियन साम्राज्यवादले तराईलाई सर्लक्कै खाने योजनामा थारु समुदायलाई जबर्जस्ति मधेशीमा हाल्न खोज्यो। नेपाललाई कथित जातियताका आधारमा टुक्राउन २०६३ पछि पृथ्वीनारायण शाहमाथी हमला गर्न लगाईयो र नेपाललाई ‘गोरखा साम्राज्यको विस्तार’ (अर्थात पहिले नेपाल थिएन भन्ने अर्थमा) भएको हौवा चलाईयो। चीनमा मंगोल शब्दको उत्पत्ति हुनु भन्दा ३ हजार बर्ष पहिले देखि नेपालमा रहेको पुष्टि भैसकेको खस समुदायलाई मुगलको समयमा आएको प्रचार मिसनरीहरूले गरिरहेका छन्, जबकि खस समुदायको थातथलो हिमालय मुनीको पहाडि इलाका हो न कि मैदानी ईलाका। इण्डियन मूल भूमीसंग खसहरूको कुनै संबन्ध छैन।
माथी उल्लेखित केही उदाहरणहरुले संकेत गरेझैं मिशनरीहरुको ‘मंगोल’ अभियान मूलत: किराँत सभ्यता र संस्कृतिलाई समाप्त पार्ने योजनामा केन्द्रित छ। थारुहरुलाई मधेशी बनाउन खोजिएझैं किरातहरुलाई मंगोल बनाउन सफल भएपछि मानिसहरुको मूल सांस्कृतिक पहिचान रहन्न र सबै वर्णशंकरमा परिणत हुन्छन्। वर्णशंकरमा मूल तत्व हुँदैन। यो आजभोली बजारमा पाईने यस्ता बिउबिजन जस्तै हो, जो एक पटक भन्दा बढी जाग्दैन। किरातहरु मौलिकता हराएर वर्णशंकरमा परिणत भएपछि तिनीहरुलाई जे मा पनि बदल्न सकिन्छ। ‘मंगोल’ को नारा नेपालका सबै सांस्कृतिक समुदायहरुको पहिचान समाप्त पारे यिनीहरुको ईसाईकरण गरेर नेपाल कब्जा गर्ने मिसनरी रणनीति भन्दा बढी केही होईन।
यिनीहरुले आफ्नो मिसन लुकाउने ढालका रुपमा ‘खस’ र ‘हिन्दु’ को चर्को विरोध त गर्छन तर यिनीहरुले कहिल्यै पनि ‘आआफ्नो सभ्यता र संस्कृति जोगाऔं’ भनेर आह्वान गरेको सुन्नु भएको छ ? हिन्दु ‘अतिक्रमण’ लाई रोक्न राइ, लिम्बु, थारु, मगर, गुरुङ, तामाङ सबैले ‘आआफ्नो कुल परम्परा जोगाउन लागौं’ भनेको सुन्नु भएको छ ? खस र हिन्दुको विरोध त गर्ने तर बचाउने के ? यो प्रश्नमा यिनीहरुको मुख किन खुल्दैन ? यिनीहरुले आज सम्म गरेको काम हो- हिन्दुको विरोध गरेर राई, लिम्बु, गुरूङ, मगर, थारू, तामाङहरुको इसाईकरण। यही हो पश्चिमाहरुको ‘मंगोल अभियान’ !





