शरद ऋतुमा पर्यटकको आकर्षण बन्दै झागाना गाउँ

ड्रागन मिडिया समाचार कक्ष
चीनको कान्सु प्रान्तस्थित गान्नान तिब्बती स्वायत्त क्षेत्रको तेबो जिल्लामा रहेको झागाना गाउँमा शरद ऋतुको सुरुवातसँगै पर्यटकको चहलपहल बढेको छ। अगस्टको अन्त्यतिर गर्मी बिदा सकिन लाग्दा पनि देशका विभिन्न भागबाट आएका पर्यटक त्यहाँका पर्वत, जंगल र परम्परागत तिब्बती बस्तीको दृश्य हेर्न र तस्बिर खिच्न पुगेका थिए।



झागानाको औसत उचाइ समुद्री सतहबाट करिब तीन हजार मिटर छ। गर्मीमा औसत तापक्रम २० डिग्री सेल्सियसभन्दा कम रहने भएकाले त्यहाँको मौसम चिसो र आरामदायी हुन्छ। अग्ला चुचुरा, हरियालीले ढाकिएका पहाड, साँघुरा खोंचबाट बग्ने खोला र पहाडका फेदीमा रहेका तिब्बती शैलीका पुराना बस्तीले यस क्षेत्रलाई विशेष बनाएका छन्।



स्थानीय दृश्यावलोकन स्थलबाट पर्यटकले पर्वतशृंखला र बस्तीको मनोरम दृश्य नियाल्ने तथा मोबाइल फोन र क्यामेराबाट तस्बिर खिच्ने गरेका छन्। शरदको सुरुवाती मौसममा पर्यटकले उच्च भूभागको प्राकृतिक सौन्दर्य र तिब्बती ग्रामीण जीवन नजिकबाट अनुभव गर्छन्।
तिब्बती भाषामा ‘झागाना’को अर्थ ‘ढुङ्गाको बाकस’ हुन्छ। सन् २०२३ मा संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनले झागानालाई ‘उत्कृष्ट पर्यटन गाउँ’ सूचीमा समावेश गरेको थियो। त्यसपछि यस पुरानो पहाडी बस्तीले अन्तर्राष्ट्रिय पर्यटकको ध्यान पनि तान्दै आएको छ।





