‘युरेसिया’ पुरस्कारमा नेपाली साहित्यकर्मी राम बिन्दु श्रेष्ठ तेस्रो

ड्रागन मिडिया समाचार कक्ष
नेपाली सांस्कृतिककर्मी तथा लेखक राम बिन्दु श्रेष्ठले अन्तर्राष्ट्रिय ‘युरेसिया’ पुरस्कारको ‘मित्रताका पुल’ विधामा तेस्रो स्थान हासिल गरेका छन्। उनको परियोजनाले अन्तर्राष्ट्रिय सहकार्य र विभिन्न देशका नागरिकबीच संवाद प्रवर्द्धनमा पुर्याएको योगदानका लागि पुरस्कार पाएको हो।
मित्र कुञ्जका उपाध्यक्ष तथा नेपाल–रूस साहित्य समाजका महासचिव श्रेष्ठको परियोजना विज्ञ छनोट पार गर्दै विधाका उत्कृष्ट १० मा परेको थियो। उनले अक्टोबर १४ मा मस्कोमा निर्णायकमण्डलसमक्ष परियोजना प्रस्तुत गरेका थिए।
पुरस्कारको नतिजा अक्टोबर १५ मा रूसको राष्ट्रिय केन्द्रमा आयोजित समारोहमा घोषणा गरिएको थियो। ‘मित्रताका पुल’ विधाले युरेसियाली क्षेत्रमा सामाजिक तथा सांस्कृतिक सहकार्यमा योगदान पुर्याउने कामलाई सम्मान गर्छ।
आयोजकका अनुसार सन् २०२६ को पुरस्कारका लागि ७३ देशबाट ५ हजार ५१२ आवेदन प्राप्त भएका थिए।
श्रेष्ठको उपलब्धिलाई नेपाल र रूसबीचको सांस्कृतिक तथा मानवीय सम्बन्धमा नेपाली योगदानको रूपमा हेरिएको छ।





