विपद्का कारण तीन जिल्लाका सडक प्रभावित, गोरखामा यातायात पूर्ण अवरुद्ध

ड्रागन मिडिया सम्वाददाता
वर्षा, बाढी र पहिरोका कारण म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। गोरखामा भने आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा छ। उक्त स्थानमा असोज १ गते बिहान ५ः५० बजेदेखि सडक प्रभावित भएको हो।
गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नम्बर १ को नयाँपुल क्षेत्रमा बाढीले फलामे पुलमा क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ। सोमबार बिहान ५ः३० बजेदेखि आरुघाट–धादिङ सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ।
सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खसेपछि कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा छ। त्यहाँ कात्तिक १ गते बिहान ५ः४५ बजेदेखि सडक प्रभावित भएको हो।
प्रहरीले अवरुद्ध सडक खुलाउन र यातायात सहज बनाउन प्रयास भइरहेको जनाएको छ। सडकको अवस्थालाई ध्यानमा राखी यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।





