३ कार्तिक २०८३, सोमबार

पुरानो पाइपजस्तो वस्तु काट्दा विस्फोट, बालकसहित दुई घाइते

ड्रागन मिडिया सम्वाददाता

जुम्लाको हिमा गाउँपालिका–२ ओदीमा पाइपजस्तो पुरानो वस्तु ग्राइन्डरले काट्ने क्रममा विस्फोट हुँदा एक बालकसहित दुई जना घाइते भएका छन्।

वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा बनाउने क्रममा पुरानो जिआई पाइपजस्तो वस्तु काट्दा विस्फोट भएको हो। घटनामा १४ वर्षीय बाल रोकाया गम्भीर घाइते भएका छन्। उनको खुट्टामा गम्भीर चोट लागेको र थापा सामान्य घाइते भएको वडाध्यक्षले बताए।

वस्तुभित्र गोलीका छर्राजस्ता सामग्री रहेको आशङ्का गरिएको छ। माओवादी द्वन्द्वका बेला त्यहाँ विस्फोटक पदार्थ राखिएको हुनसक्ने वडाध्यक्ष रोकायाको भनाइ छ। यसको पुष्टि भने भइसकेको छैन।

गम्भीर घाइते बालकलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ। घटनाबारे छानबिन गर्न प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पार्ने र अनुसन्धान गर्ने काममा जुटेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button