हुथी विद्रोहीले साउदीका तेल र विमानस्थलमा आक्रमण गरेको दाबी

ड्रागन मिडिया समाचार कक्ष
यमनको हुथी विद्रोही समूह अन्सारुल्लाहले पछिल्लो ४८ घण्टामा साउदी अरबका तेल तथा ग्यास, विमानस्थल र सैनिक अखडालाई लक्षित गरी छवटा सैन्य कारबाही गरेको दाबी गरेको छ।
समूहका सैन्य प्रवक्ता याह्या सरीले टेलिग्राममार्फत ठूलो सङ्ख्यामा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र मानवरहित विमान प्रयोग गरिएको बताएका छन्।
सरीका अनुसार आक्रमणमा साउदी अरबको पश्चिमी क्षेत्र यान्बुस्थित साउदी अराम्कोका र पूर्वी क्षेत्रको शैबह तेल क्षेत्रलाई लक्षित गरिएको थियो। ती स्थानमा आक्रमणपछि आगलागी भएको उनको दाबी छ।
हुथी समूहले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, अभा विमानस्थल, दक्षिणी क्षेत्र खमिस मुशैतको हवाई अखडा, नौसैनिक शिविर र राडार केन्द्रहरूमा पनि आक्रमण गरेको जनाएको छ। यी विवरण हुथी प्रवक्ताको दाबीमा आधारित छन्।





