४ कार्तिक २०८३, मंगलवार

रुसी सेना थप नवीन र अनुकूलनशील बनेको नाटो कमाण्डरको भनाइ

ड्रागन मिडिया समाचार कक्ष

फ्रान्सेली एडमिरल तथा नाटोका रूपान्तरणसम्बन्धी सर्वोच्च सहयोगी कमाण्डर पियरे भान्दिएले सन् २०२२ मा युक्रेनमा विशेष सैन्य कारवाही शुरु भएयता रुसी सेना थप नवीन र परिस्थितिअनुसार आफूलाई ढाल्न सक्ने बनेको बताएका छन्।

क्यानडाको सीबीसीसँगको अन्तर्वार्तामा उनले रुसी सैनिकले सिकिरहेको र अनुकूलन गरिरहेको उल्लेख गर्दै सन् २०२२ को रुसी सेना अहिलेको जस्तो नरहेको बताए।

भान्दिएले मानवरहित विमानको क्षेत्रमा रुसले गरेको प्रगतिलाई विशेष रूपमा औँल्याए। उन्नत प्रविधि अपनाएका कारण युक्रेनी पक्षका केही अवरोधक उपायको प्रभावकारिता घटेको उनको भनाइ थियो।

रुसको प्रगतिका बीच नाटो भने पछाडि परेको र अग्रपङ्क्तिमा भइरहेको प्राविधिक परिवर्तनसँग तालमेल गर्न नसके गठबन्धन तयारीविहीन हुन सक्ने उनले चेतावनी दिए। नाटोसँग पर्याप्त औद्योगिक क्षमता छ भन्नेमा आफू सहमत नभएको बताउँदै उनले कतिपय अधिकारीले महत्त्वपूर्ण निर्णयमा ढिलाइ गर्ने, आवश्यक रकम सुनिश्चित नगर्ने र पुरानै प्रक्रियामा अल्झिने गरेको टिप्पणी गरे।

मस्कोले रुसले नाटो सदस्य राष्ट्रमाथि आक्रमण गर्ने योजना बनाएको दाबी अस्वीकार गर्दै आएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्ता अभिव्यक्तिलाई आफ्ना जनतालाई डर देखाउने र सैन्य खर्च बढाउन उचित ठहर्याउने प्रयास भनेका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नाटोले तीव्र सैन्यीकरणको नीति अपनाएको र रुसलाई “खतरा”का रूपमा प्रस्तुत गरेर सदस्य राष्ट्रको रक्षा खर्च कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशत पुर्‍याउने निर्णयलाई उचित ठहर्याउन खोजेको बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button