४ कार्तिक २०८३, मंगलवार

चीनको अर्थतन्त्र पहिलो नौ महिनामा ४.६ प्रतिशतले विस्तार

ड्रागन मिडिया समाचार कक्ष

चीनको कुल गार्हस्थ उत्पादन सन् २०२६ को पहिलो नौ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.६ प्रतिशतले बढेर १०७.११ ट्रिलियन युआन पुगेको छ। राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार तेस्रो त्रैमासिकमा अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार भयो, जुन दोस्रो त्रैमासिकको ४.३ प्रतिशतभन्दा बढी हो।

चीनले यस वर्षका लागि ४.५ देखि पाँच प्रतिशतसम्म आर्थिक वृद्धिको लक्ष्य राखेको छ। पहिलो नौ महिनाको वृद्धि लक्ष्यको दायराभित्र रहे पनि घरेलु माग र लगानीमा कमजोरी देखिएको छ। यस अवधिमा स्थिर सम्पत्तिमा लगानी ७.२ प्रतिशतले घट्यो भने वस्तु तथा सेवाको खुद्रा बिक्री २.६ प्रतिशतले बढ्यो।

उत्पादन क्षेत्र भने अर्थतन्त्रको प्रमुख आधार बनेको छ। पहिलो नौ महिनामा निर्धारित आकारभन्दा ठूला औद्योगिक उद्यमको उत्पादनमूल्य ५.३ प्रतिशतले बढेको तथ्याङ्क ब्युरोले जनाएको छ। ग्लोबल टाइम्सका अनुसार उच्च प्रविधि उत्पादन १४.३ प्रतिशत र उपकरण उत्पादन १०.२ प्रतिशतले बढेका छन्।

विश्लेषकहरूले निर्यात र उन्नत उत्पादन क्षेत्रको विस्तारले वृद्धिलाई टेवा दिएको बताएका छन्। तर कमजोर उपभोग, घट्दो लगानी र घरजग्गा क्षेत्रको मन्दीले आर्थिक पुनरुत्थान असमान रहेको उनीहरूको आकलन छ।

राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार पहिलो नौ महिनामा चीनको आयात–निर्यात १८.८ प्रतिशतले बढेको थियो। आयात २२.३ प्रतिशतले र निर्यात १६.४ प्रतिशतले बढेको तथ्याङ्कले उत्पादनसँगै आन्तरिक मागमा पनि विस्तार भएको सरकारी पक्षको भनाइलाई बल दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button