धार्मिक सद्भाव भड्काउने आरोपमा गौशालाबाट युवक पक्राउ
ड्रागन मिडिया सम्वाददाता
महोत्तरीको गौशालामा दुर्गा प्रतिमा विसर्जनका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झैझगडा गराउने योजना बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा गौशाला नगरपालिका–४ का २५ वर्षीय मोहम्मद अमिर राजा छन्। प्रहरीका अनुसार असोज २४ गते गौशाला–४ को बाँसघारीमा केही व्यक्तिसँग बसेका बेला उनले विसर्जनका दिन झडप गराउने योजना बनाएको आरोप छ। समुदायबीच तनाव भड्काउने उद्देश्यले अडियो बनाएर ह्वाट्सएपमार्फत फैलाएको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
प्रहरीले असोज ३० गते गौशाला बजारबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। गौशालामा कोजाग्रत पूर्णिमाका दिन दुर्गा प्रतिमा विसर्जन गर्ने गरिन्छ।




